कर्णाली प्रदेश

गाउँपालिकाले ग¥यो चौँरी वितरण

डोल्पा । यहाँको जगदुल्ला गाउँपालिकाले स्थानीय पशुपालक कृषकलाई चौँरी वितरण गरेको छ । एक घर एक व्यवसायअनुसार पशुपालक कृषकलाई चौँरी वितरण गरिएको हो । गाउँपालिकाले प्रत्येक घरधुरीले चौँरीपालन व्यवसायबाटै आम्दानी गरुन् भन्ने उद्देश्यका साथ एक घर एक चौँरी वितरण गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

पहिलो चरणअन्तर्गत गाउँपालिका–४ चौँरीकोट छाँचुका ३५ घरधुरीलाई चौँरी वितरण गरिएको गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायाले जानकारी दिए। गाउँपालिकाभरिमा १९० घरधुरीले पशुपालन, ३१४ घरधुरीले कृषि व्यवसाय र ७८ घरधुरीले अन्य व्यवसाय गर्ने योजनाअनुरुप कूल रु पाँच करोड ६० लाख बराबरको रकम विनियोजन गरेको उहाँको भनाइ छ । प्रत्येक घरधुरीलाई दुई चौँरीगाई र बाख्रापालन गर्नेलाई १२ स्थानीय सरकारले नै अनुदान प्रदान गरेको छ ।

अनुदानमा दुई चौँरीगाई दिइएको छ र एउटा कृषकले नै किन्नुपर्ने छ, भने बाख्रापालनका लागि १२ वटा अनुदानमा र आठ कृषकले अनिवार्य किन्नुपर्ने छ । आर्थिक वर्ष २०७५/७६ को बजेटबाट एक घर एक व्यवसायको कार्यक्रम सञ्चालन भएको नायबसुब्बा केशव जैसीले जानकारी दिए ।

स्थानीय सरकारले एक घर बराबर व्यवसाय गर्नका लागि रु ९६ हजार ६०० बराबर अनुदान दिने जैसीको भनाइ छ । स्थानीय सरकारले पहिलोपटक कृषकको चाहना अनुसार नै अनुदान दिएकाले सरकारको अनुदानको उपलब्धि निकाल्ने स्थानीय भीमबहादुर बस्नेतले बताए । केही गरेर आम्दानी गर्न खोज्ने कृषकका लागि सुनौलो अवसर भएको उनको भनाइ छ ।