विशेष

हाम्रो गौरब, हाम्रो पहिचान– मनाइयो टोपी दिवस (फोटो फिचर)

काठमाडौँ । हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका जागरुक युवा अभियान नेपालले छैटौँ नेपाली टोपी दिवस भव्यरुपमा मनाएको छ । अङ्ग्रेजी नयाँ वर्षको दिन आज माइतीघरमण्डलामा भेला भएर युवायुवतीले गत वर्षजस्तै ‘टोपी दिवस’ मनाएका हुन् ।

माइतीघरमण्डलमा भेला भएको युवायुवतीले पञ्चेबाजासहित मण्डलादेखि नयाँबानेश्वरसम्म प्रभातफेरि गरेका थिए । अङ्ग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढिरहेको अभियानले भन्दै २०७० सालदेखि नेपाली मौलिक पोशाक संरक्षणको अभियानका लागि ‘टोपी दिवस’ मनाउन शुरु गरेका हुन् ।

सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि अभियानले नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी)लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आएको छ ।

राष्ट्रिय पोशाक दौरा सुरुवाल र ढाका टोपीमा सजिएका सहभागीले ढाका टोपीलाई पहिचान दिन माग गर्दै राष्ट्रिय पोसाकको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।

टोपी दिवसमा ¥याली

अन्तर्राष्ट्रिय टोपी दिवसको अवसरमा आज बिहान झापा काँकडभिट्टा बृहत् ¥याली गरिएको छ ।ट्राभल्स सङ्घ झापाको आयोजनामा आयोजित कार्यक्रममा मेचीनगर नगरपालिका जनप्रतिनिधि, होटल व्यवसायी, स्थानीय राजनीतिक दलका प्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रमुखसहितको टोलीले ढाका टोपी लगाएर काँकडभिट्टा बजार परिक्रमा गरेको हो ।

नेपाली ढाकाटोपीलाई सम्बर्धन र प्रवर्धन गर्ने उद्देश्यले टोपी दिवस मनाइएको ट्राभल्स सङ्घ झापाका अध्यक्ष नीरबहादुर कार्कीले बताए।