बाग्मती

भारी हिमपातका कारण चौँरीगाई बेंसी सारिए

रसुवा । रातभरको भारी वर्षाका कारण आज यहाँको उत्तरी क्षेत्रमा हिमपात भएको छ । रातभर पानी परेको र समुद्री सतहदेखि करीब दुई हजार १०० मिटरसम्म हिमपात हुँदा उत्तरी रसुवाको जनजीवन प्रभावित भएको छ । उत्तरी क्षेत्रका लाङटाङ, चन्दनबारी, गतलाङ, थुमनको नाकथली, यार्साको माथिल्लो भेकलगायत क्षेत्रको जनजीवन बढी कष्टकर भएको छ ।

जाडोको जोखिमबाट सुरक्षित राख्न स्थानीय तहमार्फत आफूले समन्वय गरिरहेको जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले बताए । अहिले सदरमुकाम धुञ्चेको तापक्रम भने माइनस २ डिग्री सेल्सियस छ । हिमपातले पशुको चरण क्षेत्रसमेत प्रभावित बन्दै गएकाले माथिल्लो भेकमा रहेका करीब ५०० चौँरीगाई तल्लो क्षेत्रको बेंसीतर्फ सारिसकिएको चौँरीपालक अगुवा कृषक सोनामनुर्पु घलेले जानकारी दिए । हिमपातको चिसोबाट सुरक्षित रहन न्यानो लुगा लगाउन, तातोपानी र तातो तातो खाना खान तथा हिँडडुल गर्दा लठ्ठी प्रयोग गर्न रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले सुझाव दिए ।

हिमपातको चिसोबाट जोगिन विपन्न बर्गको छनोट गरी उत्तरी क्षेत्रको गतलाङ, चिलिमे र लाङटाङ क्षेत्रका केही बासिन्दालाई गत हप्ता नै कम्बल वितरण गरिएको छ । हिमपातका समयमा स्थानीय नागरिकलाई पर्न सक्ने असर न्यूनीकरण गर्न आफूहरू तयार रहेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।

हिमपातका कारण कुनै गाउँबस्तीका बासिन्दा स्थानान्तरण गर्नु परेमा नजीकको प्रहरी चौकी वा विपद् व्यवस्थापन समितिलाई तुरून्त खबर गरिदिन स्थानीयवासीलाई आग्रह गरिएको प्रजिअ पौडेलले बताए । यस्तै गए रातिदेखि विद्युत् सेवासमेत अवरूद्व हुँदा विद्युत्को सहायताले हुने सबै काम प्रभावित भएको यहाँका सरकारी अधिकारीले बताएका छन् ।