सूचना प्रविधि

नेपाल टेलिकमले आफ्नो सेवाको गुणस्तर सुधार्दै

बागलुङ । धौलागिरि क्षेत्रमा नेपाल टेलिकमको सेवा विस्तार र गुणस्तर सुधारको काम तीव्र बनेको छ । पूर्वाधार र प्रविधिमा गरिएको सुधारले सेवा स्तरीय बन्दै गएको टेलिकम बागलुङ कार्यालयले जनाएको छ । कार्यालयले जिएसएम मोबाइल, सिडिएमए, ल्याण्डलाइन र इन्टरनेट सेवा प्रवाह गर्दै आएको छ ।

पछिल्लो अवधिमा सेवा विस्तार र गुणस्तरमा उल्लेख्य सुधार आएको कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले बताए । उनका अनुसार धौलागिरिका एक सय २० ठाउँमा मोबाइल र इन्टरनेट सेवाका लागि जिएसएम बिटिएस टावर सञ्चालित छन् । गत दुई वर्षमा मात्र ४४ नयाँ टावर बनेका थिए । “यो वर्ष मात्रै दश नयाँ टावर चले”, इञ्जिनीयर शर्माले भने, “पुराना अस्थायी संरचनामा बनेका टावरको पनि स्तरवृद्धि भइरहेको छ ।” अहिले अस्थायी प्रकृतिले चलेका १५ वटा टावरको स्थायी संरचना बनाउने काम भइरहेको छ । अर्को चरणमा थप १२ वटा टावरको स्तर सुधार गरिनेछ ।

स्थायी संरचना बन्दा टावर हाल भएका भन्दा अग्लो हुने र त्यसले सेवाको पहुँच बढाउने जनाइएको छ । मुस्ताङको कोरला, म्याग्दीको बरङ्जा, बागलुङको अमरभूमि, छिस्ती र खुङ्गामा नयाँ टावर निर्माणाधीन छन् । थ्रिजी सेवाको लागि बागलुङको बुर्तिबाङ, म्याग्दीको सिङ्गा तातोपानी र पोखरेबगरमा पनि जिएसएम बिटिएस टावर निर्माणको लागि अध्ययन भइरहेको छ ।

“धौलागिरिभरि मोबाइल सेवा विस्तार हुँदैछ”, इञ्जिनीयर शर्माले भन्नुभयो, “इन्टरनेटको पनि सेवा र गुणस्तर बढ्दै गएको छ ।” बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा गरी हाल ८१ ठाउँमा थ्रिजी सेवा छ । आगामी चैतभित्र बढाएर ९१ ठाउँमा थ्रिजी सेवा पु¥याउने लक्ष्य कार्यालयको छ । छिट्टै फोरजी सञ्चालनको तयारी पनि अघि बढ्ने जनाइएको छ । आउँदो दशैँसम्ममा धौलागिरिका मुख्य बजार क्षेत्रमा फोरजी सेवा शुरु हुनेछ ।

गाउँ/गाउँमा जिएसएम मोबाइल पुगेपछि इन्टरनेट डाटा खपत पनि उल्लेख्यरूपमा बढेको छ । दुई वर्षअघिसम्म प्रतिदिन जम्मा ६६ जिबी खपत हुने गरेकामा अहिले बढेर दुई हजार ४०० जिबी पुगेको छ । ल्याण्डलाइन टेलिफोन सेवा पनि विस्तार हुँदै गएको कार्यालयका अर्का इञ्जिनीयर अमृत नेपालले बताए । धौलागिरिका १६ ठाउँमा ल्याण्डलाइन सेवा र २५ ठाउँमा सिडिएम सेवा पुगेको छ । “सेवा विस्तार नै हाम्रो मुख्य लक्ष्य हो”, इञ्जिनीयर नेपालले भने, “सेवाका बारेमा आउने गुनासाको तत्काल सम्बोधन हुन्छ ।” जिएसएम मोबाइल पुगेपछि सिडिएमएका प्रयोगकर्ता भने घट्दै गएको पाइएको छ ।

गुणस्तरीय डाटा र भ्वाइस सेवाका लागि तामाको तार हटाएर फाइबर प्रविधिसमेत राख्न शुरु गरिएको छ । आउँदो चैतभित्र बागलुङ बजारका सबै घरमा फाइबर विस्तार हुने कार्यालयले जनाएको छ । बागलुङपछि म्याग्दीको बेनी र पर्वतको कुश्मा बजारमा फाइबर पु¥याउने लक्ष्य छ । टेलिकमले म्याग्दीको गुर्जा बाहेक धौलागिरिका अन्य ठाउँमा रहेका ‘स्याटेलाइट’ प्रविधि हटाएर ‘माइक्रोवेभ रेडियो लिङ्क’ सञ्चालनमा ल्याएको छ । ‘माइक्रोवेभ रेडियो लिङ्क’ प्रविधिले भ्वाइस र डाटाको गुणस्तरमा सुधार आउने जनाइएको छ ।