प्रदेश 1

जलेश्वर कारागारमा बढी कैदीबन्दी हुँदा समस्या

गौशाला । महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको संयुक्त कारागारको रूपमा रहेको जलेश्वर कारागारमा अहिले क्षमता भन्दा झण्डै चार गुणा बढी कैदीबन्दी भएपछि त्यहाँ समस्या उत्पन्न भएको छ ।

कारागार प्रमुख चिरञ्जीवी थापाका अनुसार कारागारको कैदीबन्दी राख्ने क्षमता १३५ जना रहेकोमा अहिले झण्डै पाँच सय कैदीबन्दी पुगेको छ । उनले कारागारमा क्षमता भन्दा बढी चापका कारण कैदीबन्दीलाई सुत्न, बस्न, खाना पकाउन, खान, हिँडडुल गर्न, शौचालय, खानेपानी र विभिन्न रोगको सङ्क्रमण जस्ता समस्या उत्पन्न भएको छ ।

कारागारका चौकीदार (मुख्य कैदी) श्री नारायण महतोका अनुसार अहिले कैदीबन्दीलाई ठाउँको अभावमा कोठामा आवतजावत गर्ने बाटोमा पालैपालो सुताउने गरेको र अन्य सबैथोक अभावमा चलाउनुपरेको बताए । कारागारमा कर्तव्य ज्यान मुद्दामा रहेका कैदी अरुण झाले अत्यधिक चापका कारण कैदीबन्दीले अहिले खाना पकाउन र खान तथा शौचालय जान पालो कुर्नुपरेको बताए ।

कारागारमा अत्यधिक चापकै कारण दिनहुँ कैदीबन्दी बिरामी भएर जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि समेत जाने गरेको छ । दिनानुदिन बढ्दै गरेको कैदीबन्दीको चापलाई कम गर्न कारागारबाट केही कैदीबन्दीलाई अन्य कारागारमा सरुवा गरिदिन र थप कैदीबन्दी नपठाइदिन सम्बन्धित निकायलाई पत्राचार गरेको कारागार प्रमुख थापाले बताए ।