बाग्मती

स्थानीयवासी मुआब्जाबाट वञ्चित

रसुवा । उत्तरी नाका रसुवागढी क्षेत्रको टिमुरेमा निर्माण हुने सुख्खा बन्दरगाहका लागि अधिग्रहण गरिएको जग्गा तथा घरटहराको स्थानीयवासीले मुआब्जा पाउन सकेका छैनन् ।

टिमुरेवासी फुर्पु दोर्जे घलेका अनुसार सुख्खा बन्दरगाह निर्माणका लागि टिमुरेको सडकभन्दा मुनिको जग्गा सरकारले अधिग्रहण गरेको दुई वर्ष बितिसक्दा पनि १४ स्थानीयवासीले मुआब्जा पाएका छैनन् । घरटहराको मुआब्जा नपाउनेमा गोसाइँकुण्ड गाउँपालिका– २ का टासी ढिण्डू तामाङ, कालेबाबु तामाङ, कामीसितार तमाङ, मिङमार छेटेन नगरकोटी, निमा घिसिङ, भुजुङ तामाङ, कर्मा नामग्याल तामाङ, फुर्पु दोर्जे तामाङ, छिरिङ छेम्बेल तामाङ, थेक्पा दोर्जे तामाङ, श्रीमान् मोक्तान, देवबहादुर मगर र छिरिङ आङ्मो लामा रहेका छन् । पीडितले मुआब्जा रकम नपाएसम्म घरटहरा नछाड्ने बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले सुख्खा बन्दरगाह निर्माणका लागि अधिग्रहण गरिएका अधिकांश घरटहराको मुआब्जा वितरण गरिएको अभिलेखबाट देखिएको बताए । उनले रकमको अभावमा मुआब्जा भुक्तानी गर्न बाँकी रहेका घरटहराका लागि प्राविधिक मूल्याङ्कनका आधारमा रकम निकासा माग गरी पीडितको समस्या छिटो समाधान गर्न ताकेता भइरहेको जानकारी दिए ।