स्वास्थ्य

पूर्ण खोप दिगोपनाको चुनौती

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बसाइ सरी आउने तथा जाने व्यक्तिको तथ्याङ्क अद्यावधिक हुन नसक्नुलाई पूर्ण खोप दिगोपनाको चुनौतीका रुपमा लिएको छ । काठमाडौँ महानगरपालिका खोप समन्वय समितिको मङ्गलबार बसेको बैठकले देशभित्रबाट राजधानीमा बसोेबास गर्ने न्यून आयस्रोत भएका अभिभावक तथा देश बाहिरबाट आएर बसोबास गर्ने अभिभावकका बालबालिकाको तथ्याङ्क लिन नसक्नु पूर्ण खोपका लागि चुनौती रहेको बताएको छ । वडा नं १० का अध्यक्ष रामकुमार केसीले बालबालिकाको तथ्याङ्क सङ्कलनका लागि स्वयंसेविकालाई परिचालन गर्ने प्रभावकारी विधि खोज्न आवश्यक रहेको बताए ।

यस्तै वडा नं १७ का अध्यक्ष नवीन मानन्धरले आफ्नो वडामा बढी समस्या रहेको बताए । महानगर जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रविलास बज्राचार्यले वडाको आवश्यकता र मागअनुसार एकीकृत स्वास्थ्य सेवा प्रवाह कार्यक्रम अघि बढिरहेको जानकारी दिए । बैठकमा प्रभावकारी र गुणस्तरीय नियमित खोप सञ्चालन, प्रत्येक वर्ष हुने घरधुरी सर्वेक्षण, समीक्षा, सुक्ष्म योजना अद्यावधिक, पूर्ण खोप प्रमाणीकरण र प्रतिवेदनका विषयमा छलफल गरिएको थियो । त्यस्तै स्थानीय तहको वार्षिक कार्यक्रममा खोप कार्यक्रम समावेस गर्ने, प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चितता भएको सार्वजनिकीकरण गर्ने, खोपबाट बचाउन सकिनेलगायत विषय उठान गरिएको थियो ।

कुनै स्थानीय तहलाई पूर्ण खोप घोषणा गर्न सम्बन्धित तहका १२ देखि २३ महीनासम्मका बालबालिकाको सर्वेक्षण गर्दा उनीहरुले एक वर्षको उमेरभित्र राष्ट्रिय खोप तालीकाअनुसार खोप प्राप्त गरेको हुनुपर्छ । नेपालमा सन् २०१४ देखि पूर्ण खोप सुनिश्चितता कार्यक्रम थालिएको हो । सो कार्यक्रमअन्तर्गत अहिलेसम्ममा ३५ जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको छ । काठमाडौँ महानगरले गत वर्ष पुसमा पूर्ण खोप महानगरका लागि प्रतिबद्धता जनाएको थियो । सन् २०११ मा गरिएको नेपाल स्वास्थ्य तथा जनसङ्ख्या सर्वेक्षणले देशभरिमा १३ प्रतिशत बालबालिका पूर्ण खोपबाट बञ्चित तथा तीन प्रतिशत बालबालिकाले एउटै पनि खोप नपाएको देखाएको थियो । महानगर खोप समन्वय समितिका अध्यक्ष महानगरका प्रमुख विद्यासुन्दर शाक्य रहेका छन् ।