समाचार

तिम्ल्याहा बच्चा जन्माउनेलाई रु ३० हजार

गलेश्वर । बेनी नगरपालिकाले तिम्ल्याहा बच्चा जन्माएका नगर क्षेत्रभित्रका दुई जनालाई जनही रु ३० हजारका दरले रकम प्रदान गरेको छ ।

नगरपालिकाले तिम्ल्याहा बच्चाका अभिभावक बेनी नगरपालिका–७ मङ्गलाघाटकी सम्झना पन्त बानियाँ र वडा नं ४ राक्सेका केदार आचार्यलाई उक्त रकम हस्तान्तरण गरेको हो । तिम्ल्याहा बच्चाको पालनपोषणमा सघाउन नगरपालिकाले सो रकम सहयोग गरिएको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताए ।

मङ्गलबार नगरपालिकाको कार्यालयमा नगरप्रमुख श्रेष्ठ, उप्रमुख सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी र प्रवक्ता तथा वडा नं ८ का वडाध्यक्ष रामकृष्ण बराइलीले सो रकम हस्तान्तरण गरे । नगरकार्यपालिकाको मङ्गलबार सम्पन्न ३१औँ कार्यपालिका बैठकले रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।