खेलकुद

सहसचिव न्यौपानेको संयोजकत्वमा एन्फा अनियमितताको छानबिन गर्न समिति

काठमाडौँ । युवा तथा खेलकूद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा भएको आर्थिक अनियमितताको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले एन्फामा भएको आर्थिक अनियमितताको विषयमा छानबिन गर्न मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेको संयोजकत्वमा उपसचिव समन्तमणि आचार्य र सङ्घसंस्था विभाग प्रमुख डेमबहादुर बस्नेत सदस्य रहेको सो समित गठन गरिएको मन्त्री विश्वकर्माका स्वकीय सचिव सुशील विकेले बताए ।

एन्फा निर्वाचनमा आर्थिक अनियमितता र भ्रष्टाचार भएको विषय सार्वजनिक रुपमा उठेपछि खेलकूद मन्त्रालयले समिति गठन गरेको हो । एन्फाले यसअघि पत्रकार सम्मेलन गर्दै आफूमाथि लागेका सबै आरोप निराधार भएको बताउँदै आएको छ ।

काठमाडौँ, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल सङ्घका अध्यक्षले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा अनियमितता भएको भन्दै उजुरी दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोबारे छानबिन गर्न मन्त्रालयलेलाई पत्राचारसमेत गरेको थियो ।

आयोगको पत्रपछि मन्त्रालयले छानबिन समिति बनाएको हो । अख्तियारले युवा तथा खेलकूद मन्त्रालयलाई लेखेको पत्रमा पछिल्लो समय नेपाली खेलकूदमा भइरहेका गतिविधिबारे छानबिन गर्न र विशेषगरी एन्फामा भएको भनिएको भ्रष्टाचारको सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन पेश गर्ने निर्देशन दिएको थियो ।

गत पुस १७ गते फुटबल सङ्घ काठमाडौँका अध्यक्ष विराटजङ्ग शाही, ललितपुर अध्यक्ष पुरुषोत्तम थापा, भक्तपुर अध्यक्ष गौतम सुखजु र धादिङ अध्यक्ष दीपक खतिवडाले अख्तियारमा उजुरी दर्ता गरेका थिए । यसैबीच एन्फा प्रवक्ता किरण राईले भ्रष्टाचारको आरोप प्रमाणित भए कारबाही भोग्न वर्तमान नेृतत्व तयार रहेको बताए । उनले छानबिन समितिलाई सहयोग गर्नेसमेत स्पष्ट पारे ।