बाग्मती

काठमाण्डौ प्रहरीको गोली लागेर घाइते, पेस्तोल र छ राउण्ड गोली बरामद

काठमाडौँ । काठमाडौँको गोङ्गबुस्थित मित्रपार्कमा प्रहरीको गोली लागेर आज एक व्यक्ति घाइते भएका छन् । यहाँस्थित होटल लकको कोठा नम्बर १०४ मा शङ्कास्पद व्यक्ति रहेको भन्ने सूचनाको आधारमा प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीलाई नै पेस्तोल ताकेपछि प्रहरीले चलाएको गोली लागेर काभ्रेका अविलास तामाङ घाइते भएको परिसरका प्रमुख वसन्त लामाले जानकारी दिए ।

उनका अनुसार उनको साथबाट एक थान चिनीया पेस्तोल र छ राउण्ड गोली बरामद गरिएको छ । खुट्टामा गोली लागेका उनलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । उनी गुण्डागर्दीमा र हतियार देखाएर लुटपाटमा सङ्लग्न रहेको खुल्न आएको परिसरका प्रमुख लामाले बताउनुभयो । उनको विषयमा थप अनुसन्धान जारी रहेको जनाइएको छ ।