राजनीति

काँग्रेसको दाबीः भूमाफिया/प्रशासनसँग मिलेर जनप्रतिनिधिले करोडौँ अपचलन गरेको प्रमाण छ

भक्तपुर । नेपाली काङ्ग्रेस भक्तपुरले हनुमन्ते खोला फर्काउने नाममा भूमाफियाले स्थानीय जग्गाधनीलाई त्रसित बनाउने काम गरेको भन्दै विरोध जनाएको छ ।

समितिले आज जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी प्रचार विभाग प्रमुख केदार खड्काले हनुमन्ते करिडोर निर्माणका नाममा कहिले खोला फर्काउने, कहिले खोलाको सीमाङ्कन गर्ने भन्दै जग्गाधनीलाई त्रसित बनाउने काम गरिको आरोप लगाए ।

पार्टी सभापति दुर्लभ थापाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति जारी गर्दै हनुमन्ते करिडोर निर्माणका नाममा भूमाफियाले पार्टी सभापतिको नामसमेत जोडेर प्रचार गरेको भन्दै आपत्ति जनाइएको छ । हनुमन्तेबाट जनप्रतिनिधिले करोडौँ अपचलन गरेको आफूसँग प्रमाण भएको दाबी गर्दै हनुमन्तेमा भूमाफियालाई प्रशासनको समेत साथ रहेको काङ्ग्रेस सभापति थापाले आरोप लगाएका छन् ।

त्यस्तै हनुमन्ते नदी र अरनिको राजमार्ग सरसफाइमा राजनीतिक आवरण जोडेर प्रचार गरेको आरोप लगाउँदै विज्ञप्तिमार्फत सभापति थापाले त्यस्ता कार्यमा आफ्नो साथ र समर्थन नरहने बताए । नेपाली काङ्ग्रेसले जिल्लाका चारवटै नगरपालिकाले दलहरुसँग सुझाव नलिई एकलौटी ढङ्गले विभिन्न सेवामा कर एवं राजश्वको दायरा वृद्धि गरेको भन्दै तत्काल वृद्धि गरिएको कर घटाउन माग गरेको छ ।

यस्तै सरकारसँग काङ्ग्रेसले प्रदेश तहको निर्वाचनबाट भक्तपुर क्षेत्र नं १ (क)बाट निर्वाचित जनप्रतिनिधिको निधन भई रिक्त रहेको उक्त स्थानमा निर्वाचनको मिति तोक्न माग गरेको छ ।