राजनीति

ओली सरकार नेपाली जनताको बिरुद्धमा, तरुण दलले चाँडै ठीक लगाउँछ: अध्यक्ष बस्नेत

विराटनगर । नेपाल तरुण दलका नेताले सरकार सच्चिएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उक्त दलद्वारा आज यहाँ आयोजित विरोधसभामा उनीहरूले करको दायरा सरल बनाउनु पर्ने, महँगी नियन्त्रण गर्नुपर्ने र सुशासनलाई बलियो बनाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका हुन् । तरुण दलका केन्द्रीय अध्यक्ष जीतजङ्ग बस्नेतले दुईतिहाइको यो बहुमतको सरकार नेपाली जनताको भावना र इच्छाअनुसार अघि बढ्नुपर्नेभएपनि नेपाली जनताको बिरुद्धमा देखिएको बताएका छन् । सातै प्रदेशमा प्रदेशका मुख्यमन्त्री तथा प्रधानमन्त्रीको बिरुद्धमा उत्रिएको तरुण दलले पहिले चरण अन्तर्गत आज प्रदेश नम्बर-१ को राजधानी बिराटनगरमा बिरोध प्रदर्शन गरेको हो । अध्यक्ष बस्नेतले दुईतिहाई मतको ओली सरकार जनताको बिरुद्धमा हुनु आफूहरुलाई दुःख लागेको विचार ब्यक्त गरेका थिए ।

‘तरुण दलले नेपाली जनता विरुद्धमा ओली सरकारलाई सम्झाएको र सम्झाईले मात्र ठीक नलागे बिस्तारै हामीले ठीक लगाउँछौं’, अध्यक्ष बस्नेतले भने ।

दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भूपेन्द्रजन शाही र कोषध्यक्ष विद्वान गुरुङले सरकारले शान्ति सुरक्षाको अवस्थालाई बलियो बनाई भ्रष्टाचार नियन्त्रण गर्नुपर्नेमा जोड दिए।  उक्त दलका जिल्लासभापति सञ्जय थापा (मोरङ), गोपाल तामाङ ( धनकुटा), सिजन गुरुङ(सुनसरी) तथा प्रदेश नम्बर १ का जिल्लामा पर्ने अधिकाँस सभापति र तरुण नेताहरुले ओली सरकार सुशासनको मार्गमा नहिँडेको, जनतालाई ढाँटेको, निर्मला पन्तको बलात्कार र हत्यारा पत्ता लगाउन पूर्णतः असफल रहेको, वाईडबडी भ्रष्टाचार ढाकछोप गरेका, कर बढाएर जनतालाई मार्कामा पारेको लगायतका धारणा व्यक्त गरेका छन्।