कृषि

अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको तयारी पूरा

चितवन । चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुन लागेको ‘कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी’को तयारी पूरा भएको छ ।

मिडिया स्पेस सोलुसन्स र भारतको फुटुरेक्स टे«ड फेयर एण्ड इभेन्ट्सले आयोजना गर्न लागेको प्रदर्शनी यही माघ ११ गतेदेखि शुरु भई तीन दिनसम्म सञ्चालन हुने छ । प्रदर्शनीमा नेपाल, भारत, चीनलगायत १५ देशका १५० भन्दा बढी कृषिसँग सम्बन्धित स्टलमा ४०० प्रकारका उत्पादन रहने छन् । आयोजक संस्थाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

सो अवसरमा मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक श्रीजल भट्टराईले मेलामा कृषिका कुखुरापालन, माछापालन, गाईभैँसीपालन, बाख्रापालन, डेरीलगायत नवीनतम औजार, उपकरण, केरा खेती, थोपा सिँचाइ र विषादीरहित कृषिका बारेमा तालीम एवं गोष्ठी सञ्चालन गरिने जानकारी दिए । प्रदर्शनीमा देशभरिबाट बढीभन्दा बढी उद्यमी, अनुसन्धान कर्ता, विद्यार्थी, सङ्घ संस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहने विश्वास लिइएको भट्टराईले बताए ।

प्रदर्शनीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका साथै अखिल नेपाल किसान महासङ्घ, राष्ट्रिय कृषक समूह महासङ्घ, नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लि, नेपाल पोल्ट्री महासङ्घ, चितवन उद्योग सङ्घलगायत संस्थासँग आबद्ध कृषक तथा व्यवसायीसमेत सहभागी हुने जनाएको छ । प्रदर्शनीको पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुहुने कार्यक्रम छ ।