सुदूरपश्चिम

२५ प्रतिशत छुट हुने हुँदा महिलाको नाममा जग्गा लिनेको सङ्ख्या वृद्धि

मार्तडी । बाजुरामा पछिलो समयमा महिलाको नाममा जग्गा लिनेको सङ्ख्यामा वृद्धि भएको छ । महिलाका नाममा जग्गा राख्दा लाग्ने राजश्व र पास गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट हुने हुँदा पछिल्लो समय महिलाको नाममा जग्गा लिनेको सङ्ख्यामा वृद्धि भएको जिल्ला मालपोत कार्यालय बाजुराले जनाएको छ ।

कार्यालय प्रमुख लक्ष्मणप्रसाद पाण्डेका अनुसार पछिल्लो समय महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्यामा मात्र नभई दलितको नाममा पनि जग्ग्गा पास गर्नेको सङ्ख्यामा वृद्धि भएको बताए । अहिले महिला तथा दलितका नाममा जग्गा पास गर्दा लाग्ने राजश्वमा २५ प्रतिशत छुट हुने कानूनी प्रवधान रहेको कार्यालय प्रमुख पाण्डेको भनाइ छ ।

कार्यालयले आर्थिक वर्ष २०७४/७५ मा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या ५८ र दलितका नाममा जग्गापास गर्नेको सङ्ख्या ७६ रहेको जनाएको छ ।

कार्यालयमा जग्गा लिएवापत महिला र दलितले रु दुई लाख ३४ हजार १२ राजश्व छुट पाएको कार्यालय प्रमुख पाण्डेले बताए । त्यसैगरी आर्थिक वर्ष २०७५÷७६ को पुस मसान्तसम्म महिलाको नाममा जग्गापास गर्नेको सङ्ख्या ३२ र दलितका नाममा जग्गापास गर्नेको सङ्ख्या ५१ पुगेको कार्यलयको तथ्याङ्कमा उल्लेख छ । यसवापत महिला र दलितले रु दुई लाख २० हजार १५३ राजश्व छुट पाएका छन् ।