लुम्बिनी

उत्कृष्ट ३२ कृषक पुरस्कृत

बेझाड । पाल्पाको रामपुरमा भएको कृषि तथा पशुमेला प्रदर्शनीमा उत्कृष्ट ३२ कृषक पुरस्कृत भएका छन् । रामपुरमा जारी दोस्रो रामपुर महोत्सवका अवसरमा सञ्चालन भएको कृषि तथा पशु मेला प्रदर्शनीमा विभिन्न विधामा ३२ उत्कृष्ट कृषकलाई पुरस्कार प्रदान गरिएको छ ।

तरकारी बालीतर्फ प्रथम निस्दी–२ का खगीसरा मश्राङ्गी, द्वितीय रामपुर–४ को हाम्रो आधुनिक कृषिफार्म, तृतीय रामपुर–१० का केशव पाण्डे र सान्त्वना रामपुर–६ का जीवन पोखरेल पुरस्कृत भएउका छन् । पुरस्कार क्रमशः नगद रु दुई हजार, एक हजार पाँच सय, एक हजार र पाँच सय र साथमा प्रमाणपत्र प्रदान गरिएको छ ।

फलफूल बालीतर्फ प्रथम रामपुर–६ बस्ने लोकमाया ढकाल, द्वितीय रामपुर–५ का उमानाथ गौतम, तृतीय निस्दी–५ का खेमबहादुर पचभैयालाई क्रमशः नगद रु दुई हजार, एक हजार पाँच सय र एक हजार पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ भने च्याउ खेतीतर्फ प्रथम रामपुर–५ का सुन्दर राना, द्वितीय निस्दी–५ का शेरबहादुर सोतीलाई क्रमशः नगद रु दुई हजार र एक हजार पाँच सयसहित प्रमाणपत्र र सम्मानसहित पुरस्कृत गरिएको छ ।

भैँसीपालनतर्फ प्रथम रामपुर–६ का मीना अर्याल, द्वित्तीय रामपुर–४ का गङ्गाप्रसाद श्रेष्ठ, तृतीय रामपुर–५ का बुद्धिसागर रेग्मी र सान्त्वना रामपुर–५ का बलबहादुर राना भएका छन् । उत्कृष्ट भैँसीपालक कृषकलाई क्रमशः नगद रु दुई हजार, एक हजार पाँच सय, एक हजार र पाँच सयसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

गाईपालनमा प्रथम रामपुर–७ का नारायणप्रसाद भट्टराई, द्वितीय रामपुर–५ का प्रविता गाईफार्म, तृतीय रामपुर–६ का भण्डारी उन्नत गाईफार्म र सान्त्वना रामपुर–५ को ढुङ्गाना गाईफार्म भएको छ । उत्कृष्ट गाईफार्म सञ्चालक कृषकलाई क्रमशः नगद रु दुई हजार, एक हजार पाँच सय, एक हजार र पाँच सय रकम साथमा प्रमाणपत्रले सम्मान गरिएको छ ।

बाख्रापालनमा प्रथम रामपुर–६की पार्वती न्यौपाने, द्वितीय रामपुर–६ कै श्यामबहादुर मल्ललाई क्रमशः नगद रु दुई हजार र एक हजार पाँच सय साथमा प्रमाणपत्र प्रदान गरिएको छ । बोकापालनतर्फ प्रथम रामपुर–७ का बालिका रेग्मीलाई नगद रु दुई हजार र प्रमाण पत्र, द्वितीय रामपुर–१ का तुलबहादुर मल्ललाई नगद रु एक हजार पाँच सय र प्रमाणपत्र, सान्त्वना रामपुर–६ का टीकाराम रेग्मी र रामपुर–५ का अग्निप्रसाद रेग्मीलाई रु पाँच÷पाँच सय र प्रमाणपत्र प्रदान गरियो ।

स्टलमा राखिएका कृषि उपज प्रदर्शनीतर्फ उत्कृष्ट तरुल रामपुर–६ का घनश्याम बस्याल, उत्कृष्ट पिडालु निस्दी–५ का तर्क सारु, उत्कृष्ट मुला रामपुर–६ का जगन्नाथ कँडेल, उत्कृष्ट लहरेबालीतर्फ रामपुर–४ का दिलबहादुर थापा, उत्कृष्ट सुन्तला निस्दी–५ का तेजन सोती, उत्कृष्ट अमिलो निस्दी–५ का खर्गबहादुर सोती, उत्कृष्ट बेसार रामपुर–६ का गङ्गा बस्याल, उत्कृष्ट अदुवाबालीतर्फ निस्दी–५ का बलबहादुर सोतीलाई प्रतिव्यक्ति रु पाँच सय र साथमा प्रमाणपत्रले सम्मान गरिएको छ ।

त्यस्तै उत्कृष्ट केराखेतीतर्फ निस्दी–५ का खेमबहादुर पचभैयालाई नगद रु एक हजार र प्रमाणपत्रले पुरस्कृत गरिएको छ । कार्यक्रममा रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले उत्कृष्ट कृषकलाई व्यावसायिकरूपमा कृषि तथा पशुपालन गर्न आग्रह गर्नुभयो ।
यस पटकको कृषि तथा पशु मेला प्रदर्शनीमा रामपुर क्षेत्रका मात्र नभई टाढाटाढाका कृषकको उत्साहजनक सहभागिता रहेको मूल्याङ्कन समिति तथा कृषि शाखा रामपुरका प्रमुख रामहरि पाण्डेले बताए । कृषककै गोठगोठमा पुगेर अवलोकन गरी पशुको मूल्याङ्कनपश्चात व्यावसायिकताका आधारमा उत्कृष्ट कृषक छनोट गरी पुरस्कृत गरिएको मूल्याङ्कन समिति तथा पशु शाखा रामपुरका प्रमुख मोहनप्रसाद भट्टराईले बताए।