समाचार

डा केसीको ९९ प्रतिशत माग पूरा

काठमाडौँ । स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले अनशनरत प्राध्यापक डा गोविन्द केसीको सबै माग पूरा भइसकेको बताएका छन् ।

रिपोर्टर्स क्लबमा आईतबार आयोजित साक्षात्कारमा उनले थपे, “काठमाडौँमा मेडिकल कलेज खोल्न नदिने डा केसीको माग सम्बोधन भइसकेको छ । अब नयाँ मेडिकल कलेज काठमाडौँमा खोलिने छैन । यसबाट मनमोहन अधिकारी मेडिकल कलेज पनि प्रभावित भएको छ ।”

नयाँ मेडिकल कलेज खोल्न सम्बन्धन प्राप्त हुन नसकेकाले नेपाली विद्यार्थी चिकित्सा शिक्षा पढ्न विदेश जान बाध्य भएको र त्यहाँका कालोसूचीमा परेका कलेजबाट ठगिने गरेको उनले बताए । हाल नेपालबाट चिकित्सा शिक्षा पढ्न ५८८ विद्यार्थी विदेश गएका छन् । उनीहरुबाट प्रतिव्यक्ति रु २० लाखका दरले रकम बाहिरिएको राज्यमन्त्री यादवको भनाइ थियो ।

नेकपाका नेता डा वंशीधर मिश्रले डा केसीका कारण नेपालमा गुणस्तरीय मेडिकल कलेज खुल्ने वातावरण नहुँदा बङ्गलादेशमा कालोसूचीमा रहेका मेडिकल कलेजमा पढ्न विद्यार्थी बाध्य भएको बताए । उनले डा केसीको ९९ प्रतिशत माग पूरा भइसकेको बताए ।

वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले डा केसीको माग पूरा नगरेर स्वास्थ्यसम्बन्धी समस्या सरकार स्वयंले उत्पन्न गरेको बताए । उनले यो समस्या समाधानको पोको सरकारसँग रहेकाले सरकार लचिलो भई केसीसँगको सम्झौता कार्यान्वयन गर्न आग्रह गरे ।