स्वास्थ्य

दुर्गम गाउँमा आयुर्वेदिक क्लिनिक

बलेवा । बागलुङको जैमिनी नगरपालिकाले गाउँघर आयुर्वेदिक क्लिनिक शुरु गरेको छ । आयुर्वेदिक औषधालयको पहुँच नपुगेको जैमिनी–९ पैञ्युथन्थापमा गाउँघर क्लिनिक शुरु गरिएको हो ।

शनिबार पहिलो पटक सञ्चालन गरिएको क्लिनिकमा एक सय बिरामीले सेवा लिएका छन् । क्लिनिकमा आउने बिरामीलाई निःशुल्क स्वास्थ्य परीक्षण र औषधिको व्यवस्था गरिएको नगरपालिकाको कार्यालयले जनाएको छ । प्रत्येक महिना ५ गते सञ्चालन हुने गरी गाउँघर क्लिनिक शुरु भएको प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताए।

जैमिनी–२ मा रहेको दमेक आयुर्वेद औषधालयले क्लिनिकमा प्राविधिक सहयोग गर्नेछ । क्लिनिकमा उपचारका लागि आउने बिरामीका निम्ति औषधि र अन्य व्यवस्थापन खर्च नगरपालिकाले गर्ने गरी व्यवस्था मिलाइएको छ । “आयुर्वेदिक पद्धतिबाट पनि कैयौँ रोगको उपचार गर्न सकिँदो रहेछ”, नगर उपप्रमुख लीला रानाले भने, “विनासाइडइफेक्ट काम गर्ने औषधि भएकाले सर्वसाधारणको माग आयुर्वेदिक औषधिमा रहेको मैले भेटाएँ ।”