लुम्बिनी

हस्तान्तरणपछि झन् खस्कियो प्रतिष्ठान

नारायणपुर । दाङको राप्ती उपक्षेत्रीय अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण हुने खबरले दङालीमाझ खुशी ल्यायो । घरआँगनमै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुने र डाक्टर विषयको अध्ययन पनि जिल्लामै हुने भएपछि अब जिल्लाकै अनुहार फेरिन्छ भनेर उनीहरुमा आशा जागेको हो ।

लामो तयारी र कसरतपछि गत असोजमा राप्ती उपक्षेत्रीय अस्पतालले प्रतिष्ठानको स्वरुप धारणा ग¥यो । हस्तान्तरण भएको अहिले चार महिना नबित्दै अस्पताल खस्किन थालेको महसुस गरिँदैछ । दैनिकजसो हुने बन्द, हडताल र आन्दोलनका कारण न पहिले जस्तो यहाँ बिरामी आउँछन्, न कर्मचारी तथा स्वास्थ्यकर्मीहरुले भरपर्दो सेवा नै दिन पाएका छन् ।

नेपाल पत्रकार महासङ्घ दाङका कार्यसमिति सदस्य प्रेम विवश घर्ति मोटरसाइकल दुर्घटनापछि उपचारका प्रतिष्ठान पुग्दा उल्टो अपमानित भएर फर्किन प¥यो । आपत्कालीन कक्षमा २ घण्टा पर्खिंदा समेत उपचार नपाएपछि बाहिरको अस्पतालमा गएको उनले बताए । “डाक्टरले हातमा गम्भीर चोट छ, तत्कालै ठूलो शल्यक्रिया गर्नुपर्छ भन्नुभयो,” पत्रकार घर्तिले भने– “गम्भीर चोट भए बाहिरको अस्पतालमा रिफर मागेँ तर, दिनुभएन । उनले रिपोर्टमा बिरामी भागेको विवरण लेखिदिनुभएछ । घोराहीकै अर्को अस्पतालमा सामान्य उपचार लिएर फर्किएँ ।”

यस्तै, पाठेघर जाँचका लागि घोराही उपमहानगरपालिका वडा नं १५ बस्ने २४ वर्षीया एक युवती प्रतिष्ठान पुगे । भिडियो एक्स–रे पनि गराइयो । थापा थरका एक डाक्टरले हस्ताक्षर गरेको रिपोर्टमा पाठेघरमा गम्भीर समस्या भएको देखाइयो । सोही दिन मध्यपश्चिम पोलिक्लिनिक प्रालि घोराहीमा फेरि भिडियो एक्स–रे गर्दा सामान्य अवस्था देखियो ।

यस्तै, एक वर्ष पहिलेदेखि सञ्चालित अस्पतालको फार्मेसीसमेत बन्द हुने अवस्थामा पुगेको छ । अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ अनुसार तत्कालीन उपक्षेत्रीय अस्पतालले आफ्नै फार्मेसी शुरु गरेको थियो । “प्रतिष्ठानमा हस्तान्तरण पछि फार्मेसी बन्द हुने अवस्थामा छ,” कर्मचारी हिमराज गौतमले भने। उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विभागबाट रु २० लाख बजेट उपलब्ध गराएको यो फार्मेसीमा औषधि उपलब्ध नभएपछि साझा औषधि पसलबाट बिरामीले काम चलाइरहेका छन् ।

निजी क्षेत्रबाट स्थापना भएर तत्कालीन उपक्षेत्रीय अस्पतालमा हस्तान्तरण भएको पोषण पुनःस्थापना गृह समेत बन्द भएको छ । दाङ, सल्यान, रोल्पा, रुकुम र प्युठानका समेत कुपोषित बालबालिकाहरुको उपचार हुने पोषण पुनःस्थापना गृह बन्द गराइएपछि उपचाररत १० जना बालबालिका घर गएका छन् । पुनःस्थापना गृह अहिले डाक्टरको निजी आवास गृह बनाइएको छ । प्रतिष्ठानले अन्य सङ्क्रमित बिरामी राख्ने वार्डको छेउमा एउटा कोठालाई पोषण पुनःस्थापना गृहको रुपमा बताउने गरेको छ जहाँ अहिलेसम्म कुनै बालबालिका भर्ना हुन आएका छैनन् ।

स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीको सङ्ख्यामा समेत कमी आएको तथ्याङ्कले देखाउँछ । दैनिक १२ देखि १५ वटा प्रसूति हुने यस अस्पतालमा अहिले दैनिक ३ देखि ७ वटा मात्रै हुने गरेको छ । एक महिना पहिले स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालको सेवा सुविधामा सुधार नगर्दै सेवा शुल्क वृद्धि गरेपछि बिरामीको चाप घटेको हो । शुल्क वृद्धिको चौतर्फी विरोध र उच्च अदालतको अन्तरिम आदेश पछि शुल्क वृद्धि रोकिएको प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले बताए ।