बाग्मती

ऐतिहासिक उपरदाङगढी संरक्षण गरिने

भरतपुर । चितवनको ऐतिहासिक क्षेत्र उपरदाङगढीे संरक्षण गरिने भएको छ । इच्छाकामना गाँउपालिकाले पुरानो सदरमुकामसमेत रहेको उपरदाङगढीको जग्गा र भौतिक संरचना संरक्षण गर्न लागेको हो । “एतिहासिक यस गढीको जग्गा र अन्य भौतिक संरचना संरक्षण गर्न तत्काल तारबार गर्ने काम गर्दै छौँ ।” उक्त गाउँपालिका प्रमुख गीता गुरुङले भने ।

उनले चितवन र समग्र देशको इतिहाससँग जोडिएको यस गढीलाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेर पर्यटकीय गन्तब्य बनाउने बताए । गाउँपालिकाले यसवर्ष उक्त गढीे संंरक्षणका लागि रु २५ लाख बजेट विनियोजन गरेको छ । “ उपरदाङगढीको विकासका लागि गाउँपालिकाको यो बजेटप्रर्याप्त छैैन, गाउँपालिका प्रमुख गुरुङले भने, “ प्रदेश र केन्द्र सरकारसँग बजेट मागेर भए पनि तत्काल काम थाल्छौँ । अहिले यहाँको डिपिआर गर्न लागिएको छ ।”

पुरानो सदरमुकाम तथा नेपाल अङ्ग्रेज युद्धस्थल उपरदाङगढीबारे पछिल्लो समय चर्चा र चासो हुन थालेकाले इच्छाकामना मन्दिर, सिँराइचुली, जलवीरे झरना र उपरदाङगढीलाई एकिकृत पर्यटकीय गन्तब्यको रुपमा अघि बढाइने उहाँले जानकारी दिए । पूर्वाधार अभाव र प्रचारप्रचारको कमीले यस ऐतिहासिक गढी घुम्न थोरै पर्यटक मात्र पुग्ने गरेका छन् । जिल्ला सदरमुकाम भरतपुरबाट ५ घन्टा पैदल यात्रामा उपरदाङगढी पुगिन्छ । स्थानीयवासी गणेशबहादुर थापाले यस वर्ष पनि थुप्रै आन्तरिक पर्यटक यस गढीमा आएको बताए ।

बाटो र बसोबासको राम्रो सुविधा नहुँदा अपेक्षाकृत पर्यटक आउन नसकेकोे उनको भनाइ थियो । इच्छाकामनासँग जोडिएको कालिका नगरपालिकाले पनि उपरदाङगढीसँग जोडेर पर्यटन पूर्वाधार निर्माणका काम शुरु गरेको छ । नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ ‘गोपी’ले उपरदाङगढीसम्म पुग्न सडक पूर्वाधार निर्माणको काम भैइरहेको बताए। चितवनका डाँडाकाडामा पर्यटन प्रवर्धनको राम्रो सम्भावना भए पनि आवश्यक पूर्वाधारको अभावमा ओझेलमा परेको उहाँको भनाइ थियो ।

“पहाडी क्षेत्रमा लगानी भित्र्याउन पहल भैरहेको छ”, प्रमुख श्रेष्ठले भने । भविष्यमा यो क्षेत्र चितवनकै उत्कृष्ट पर्यटकीय गन्तब्य बन्ने निश्चित छ । समुद्री सतहबाट एक हजार २७५ मिटर उचाइमा रहेको उपरदाङगढीसम्म जाने सडकसमेत निर्माण गरिएको छ । शक्तिखोर–उपरदाङगढी–फिस्लिङसम्मको पक्की सडक शिलान्याश भैइसकेको छ ।

इतिहासमा उल्लेख गरिएअनुसार सन् १९७० सम्म सरकारी अड्डा यहीबाट सञ्चालन हुन्थ्यो । सन् १९६० को शुरुसम्म उपरदाङगढी चितवनको सदरमुकाम थियो । तल्कालीन बाइसे चौविसे राज्य एकीकरणका का साथै नेपाली भूमिको रक्षाका लागि अङ्ग्रेज फौज विरुद्ध युद्धका बेला सन् १८०० को शुरुतीर पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले उक्त गढी निर्माण गराएका थिए । गढी वरपर कुँदिएका ढुङ्गाको पर्खाल छ । भित्र हतियार घर, कुवा र दुईकोठे घर छन् ।

यहाँबाट सूर्योदय र सूर्यास्त सहजै अवलोकन गर्न सकिन्छ । स्थानीय बासिन्दाका अनुसार यहाँबाट अन्नपूर्ण, लाम्टाङ, इच्छाकामना, कालिका मन्दिर, देवघाट, गोरखा, तनहुँ र चितवनका ग्रामीण क्षेत्र सजिलै देखिन्छन् । यो रमणीय स्थानमा चेपाङ, मगर र गुरुङको पातलो बस्तीले घेरिएको छ । यी जातजातिको आफ्नै मौलिक परम्परा, संस्कृति र रितिरिवाज छन् ।