प्रदेश 2

आगलगीबाट अठार लाख क्षति

सर्लाही । घरमा बालेको घुरबाट आगलगी हुँदा बलरा नगरपालिका–८ गडहियामा छ घर जलेर नष्ट भएको छ । आगलागीबाट रु १८ लाखभन्दा बढीको क्षति भएको छ । स्थानीय इशा महमदको आँगनमा बालिएको घुरबाट आगो सल्किँदा महमदसहित किताब लहेरी, सलिम लहेरी, मञ्जुर लहेरी, जाजुल लहेरी र अकबर लहेरीको घर जलेर नष्ट भएको छ ।

आगलगीबाट करीब रु १८ लाख ७५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । इशा महमदको इँटा र फुसले छाएको घर, घरमा रहेको अन्नपात, लत्ताकपडा पूर्णरूपमा जलेर रु १० लाख बराबरको क्षति भएको छ । किताब लहेरीको फुसको घर, घरमा रहेको बाख्रा, खसी, पाडी जल्दा करीब रु तीन लाख बराबरको क्षति भएको छ । सलिम लहेरीको फुसको घर पूर्ण रुपमा जलेर दुई लाख ७५ हजार बराबरको क्षति भएको छ ।

त्यस्तै मन्जुर लहेरीको घरको छानो जली करीब एक लाख बराबरको क्षति भएको छ । जाजुल लहेरीको पाँच बाख्रा र घरमा आंशिक क्षति पुगेर करीब रु ५० हजारको क्षति भएको छ भने अकबर लहेरीको फुसको घर पूर्णरूपमा जल्दा रु एक लाख ५० हजार बराबरको क्षति भएको सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।

स्थानीयवासी, प्रहरी र मलङ्गवा नगरपालिकाबाट गएको वारुणयन्त्रले आगो नियन्त्रणमा लिँदा थप क्षति हुनबाट जोगिएको नगरपालिका प्रमुख अभय सिंहले जानकारी दिए । पीडितलाई नगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रमुख सिंहले बताए ।