राजनीति

ओली नेतृत्वको सरकार विकृति र अनियमिततातर्फ उन्मुखः सभापति देउवा

वालिङ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताको सन्देश देशैभरि पु¥याउनुपर्ने बताएका छन् ।

स्वतन्त्रता सेनानी एवम् जिविस स्याङ्जाका पूर्वसभापति स्व शिवकुमार अधिकारीको सम्झानामा आज यहाँ आयोजित श्रद्धाञ्जलि सभामा उनले भने, “लोकतन्त्र, विकास र समृद्धिका लागि काङ्ग्रेस एकतावद्ध भएर अगाडि बढेको सन्देश देशैभरि पु¥याउनुपर्छ ।”
सभापति देउवाले लोकतान्त्रिक आन्दोलनमा स्याङ्जाले देखाएको उदाहरण नमूनायोग्य भएको चर्चा गर्दै पुनः सोही खालको सङ्गठन देशैभर विस्तार गर्नुपर्नेमा जोड दिए ।

“नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा स्व अधिकारीले सक्रिय भूमिका खेल्नुभएको थियो,” उनले भने, “अधिकारीको निधनले एक कुशल सङ्गठनकर्ता गुमाउँदा पार्टीलाई अपूरणीय क्षति भएको छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले कामभन्दा बढी कुरा गरेको बताउँदै दुई तिहाइको वर्तमान सरकार विकृति र अनियमिततातर्फ उन्मुख हुँदै गएको आरोप लगाए।

बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा अहिलेसम्म पत्ता लगाउन नसक्नु दुःखद भएको उनले बताए ।

काङ्ग्रेस महासमिति सदस्य, जिल्ला कार्य समितिका सचिव तथा प्रजातन्त्र प्राप्तिपछिको पहिलो जिविस सभापति भएर राजनीतिमा सक्रिय रहनुभएका अधिकारीको गत पुस १० गते निधन भएको थियो ।