राजनीति

डा. केसीका माग पुरा गर्न एकजुट भई दबाब दिन तीन करोड नेपालीलाई विवेकशीलको आह्वान

काठमाण्डौ । विवेकशील साझा पार्टीले अस्पताल सुधारका लागि गोबिन्द केसीले बसेको अनसनमा सबै नेपालीहरुलाई एकजुट हुन आग्रह गरेको छ । चिकित्सा शिक्षा क्षेत्रमा देखिएका तमाम विकृतीहरुको विरुद्धमा निष्ठा पूर्वक लड्दै आउनु भएका सत्याग्रहि डा गोविन्द केसिको सोह्रौं आमरण अनसनको आज १० दिन हुँदा उहाँको स्वास्थ्य अवस्था अत्यन्तै गम्भिर बनेको र उहाँको जीवन रक्षाका लागि उहाँका मागको यथाशिघ्र र यथोचित ढंगले संबोधन गर्न सरकार र संसदलाई हाम्रो पार्टी जोडदार आग्रह गर्दछ, प्रवक्ता सुर्यराज आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाईएको छ ।

सो पार्टीका अनुसारः शिक्षा र स्वास्थ जस्ता आधारभुत समाजिक सेवा मुलतः राज्यको दायित्व हुनु पर्ने विवेकशील साझा पार्टीको मान्यता छ। डा. केसिको सत्याग्रहको मुल मर्म पनि यहि नै हो। हाल प्रक्रियामा रहेको चिकित्सा शिक्षा विधेयकका प्रावधानमा चिकित्सा शिक्षालाई गुणस्तरिय र न्याय–सम्मत बनाउने तर्फ उल्लेखनीय सुधारको संभावना देख्न सकिन्छ। तथापि चिकित्सा शिक्षाको गैर–नाफा मुलक सार्वजनिकिकरण नहुँदासम्म यो क्षेत्रमा व्याप्त विसंगतिपूर्ण व्यापारीकरणको समस्याको जरैबाट निराकरण सम्भव नहुने हाम्रो पार्टीको ठहर्छ ।

डा. केसिको श्रृङखलावद्ध सत्याग्रहको मुल भावनाको समेत आबश्यक र उपयुक्त तवरले सम्बोधन हुने गरी चिकित्सा शिक्षालाई क्रमिक रुपमा गैर(नाफा मुलक सार्वजनिकिकरण गर्ने स्पष्ट नीति र कानुन निर्माणमा वृहतर राष्ट्रिय सहमतिको पहल गर्न प्रमुख प्रतिपक्षी दल, सबै राजनीतिक दल तथा आम सर्वसाधारणलाई विवेकशील साझा पार्टी हार्दिक आह्वान गर्दछ, डा आचार्य भन्छन् ।

संसदभित्र र संसद बाहिर रहेका प्रतिपक्षी दलहरू डा केसीका मागको मर्मका सम्बन्धमा एक ठाउँमा नआउने हो भने आफैं शिक्षा र स्वास्थ्यको क्षेत्रमा लगानि गरिरहेका नेताहरूले भविष्यमा पनि यो विषयको निकास निकाल्ने छैनन् र त्यो स्थिति सरकारको मात्र होइन प्रतिपक्षी दलहरूको पनि विफलता हुने कुरा विवेकशीलको बिश्लेशण छ ।