शिक्षा

गाउँमै स्नातकोत्तरसम्मको पढाइ हुने भएपछि विद्यार्थी खुशी

बैतडी । गाउँमै स्नातकोत्तरसम्मको पढाइ हुने भएपछि बैतडीका ग्रामीण क्षेत्रका विद्यार्थी खुशी भएका छन् । बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटमा रहेको श्रीकोट बहुमुखी क्याम्पसमा चालू शैक्षिक सत्रबाट स्नातककोत्तरसम्मको पढाइ हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तरसम्मका लागि अनुमति दिएपछि चालू शैक्षिक सत्रबाट उक्त क्याम्पसमा पनि शिक्षाशास्त्र सङ्कायमा स्तातकोत्तरसम्म पढाइ हुने क्याम्पस प्रमुख दानसिंह कार्कीले जानकारी दिए । शिक्षा शास्त्रअन्तर्गत स्वास्थ्य शिक्षा र पाठ्यक्रम मूल्याङ्कनका विषयमा पढाइ हुने क्याम्पस प्रमुख कार्कीको भनाइ छ । ग्रामीण क्षेत्रका गरीब तथा बाहिर गएर पढाइ गर्न नसक्ने विद्यार्थी तथा सबैको शिक्षामा पहुँच पुग्ने क्याम्पस प्रमुख कार्कीले बताए ।

विसं २०६९ मा स्थापना भएको क्याम्पसमा हालसम्म स्नातकसम्मको पढाइ हुने गरेको थियो । उक्त क्याम्पसमा यसअघि स्नातक तहमा व्यवस्थापन र शिक्षाशास्त्र सङ्कायमा पढाइ हुँदै आएको थियो ।  गाउँमै स्नातकोत्तरसम्मको पढाइ हुने भएपछि आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको पनि पहुँच पुगेको छ । आर्थिक अभावकै कारण स्नातकपछि पढाइ छाडेका विद्यार्थीका लागि गाउँमै स्नातककोत्तरको पढाइ हुने भएपछि सजिलो हुने दोगडाकेदार– ३ श्रीकोटका सीता विष्टको भनाइ छ ।

श्रीकोट बहुमुखी क्याम्पस बैतडीमा स्नातकोत्तरसम्मको पढाइ गर्ने दोस्रो क्याम्पस बनेको छ । यसअघि सदरमुकाम गोठलापानीमा रहेको जगन्नाथ बहुमुखी क्याम्पसमा मात्रै स्नातकोत्तरसम्मको पढाइ हुने गरेको थियो ।