मनोरञ्जन

भ्रष्टाचारविरुद्ध चलचित्र ‘सयकडा दश’

मीना घोरसाइने, काठमाडौँ । नेपाली समाजमा अहिले भ्रष्टाचार दिनप्रतिदिन मौलाउँदै गएको छ । भ्रष्टाचार उन्मूलनका लागि विभिन्न क्षेत्रले आवाज उठाउँदै आएको छ । अहिलेसम्म यस विषयलाई चलचित्रमा भने समेट्न सकिएको थिएन । माघ १८ गतेदेखि प्रदर्शनीमा आउन लागेको चलचित्र ‘सयकडा दश’ले देशमा मौलाउँदै गएको भ्रष्टाचारको उन्मूलनका लागि ‘भ्रष्टाचारविरुद्ध प्रेम’ भन्ने अवधारणाका साथ भ्रष्टाचारको विषयलाई समेट्न खोजेको छ ।

युवापुस्तालाई स्वच्छ नेपालको अवधारणामा अघि बढाउन चलचित्रको निर्माण गरिएको चलचित्रका लेखक तथा निर्देशक रामशरण पाठकले जानकारी दिए । उनले भने, “चलचित्रले नेपाली समाजमा केही परिवर्तन ल्याउला भन्ने आश गरेका छौँ ।” ‘प्रेमगीत’ जस्तो उत्कृष्ट चलचित्रको लेखन तथा निर्देशन गरिसकेका पाठकले चलचित्रमार्फत नेपाली समाजको वास्तविक चित्रणलगायत सामाजिक र सांस्कृतिक पक्षलाईसमेत उजागर गर्न खोजिएको बताए ।

चलचित्रमा एक सरकारी कर्मचारी कतिसम्म भ्रष्टाचारी हुन्छ र उसले भ्रष्टाचार गरे पनि कसरी निर्धक्कसँग जीवन बिताइरहेको हुन्छ भन्ने कुरालाई चलचित्रमा उतार्न खोजिएको छ । भ्रष्टाचारीलाई समेत कसरी मायाका कारण पगाल्न सकिन्छ भन्ने कुराको चित्रण यसले गरेको छ । सामाजिक अभियन्ताको भूमिका निर्वाह गर्दै आएका मनोज गजुरेलले उक्त चलचित्रमा डेब्यु गरेका छन् ।

गजुरेलले चलचित्रमा सामाजिक अभियन्ताको भूमिका निर्वाह गर्नुभएको छ । चलचित्रका कार्यकारी निर्मातासमेत रहेका कलाकार राजाराम पौडेलले चलचित्रमा भ्रष्ट कर्मचारीको भूमिका निर्वाह गरेका छन् । चलचित्रमा पौडेलका छोरा र गजुरेलकी छोरी प्रेममा बाँधिएपछि अन्ततः विवाहको फैसलामा पुग्छन् । राजारामका घरमा मनोज पुगेपछि उनी भ्रष्ट भएकै कारण जिन्दगीभर उनको घरमा प्रवेश नगर्ने प्रण गर्छन् ।

छोराछोरीको प्रेम र भ्रष्टाचार एकै ठाउँमा मिसिएको प्रशङ्गले चलचित्रलाई केही रोचक बनाउन खाजेको छ । एउटा भ्रष्टाचारीलाई कसरी आत्मग्लानीको स्थितिसम्म पु¥याउँछ भन्ने प्रशङ्गलाई समेत चलचित्रमा उतारिएको छ । आफूले सयौँ चलचित्रमा काम गरे पनि यो चलचित्रले मात्र आफूलाई सन्तुष्टि दिएको कलाकार तथा कार्यकारी निर्माता पौडेल बताउछन् ।

“चलचित्रमा पहिलोपटक लगानी गरेको छु, चलचित्रको प्रदर्शनीपछि लगानी उठे नउठे पनि नेपाली समाजमा यसको सकारात्मक प्रभाव परोस् भन्ने हाम्रो उद्देश्य हो”, उनले भने । चलचित्र विभिन्न सामाजिक अभियन्ताको सल्लाह र सहयोगमा निर्माण गरिएको हो । चलचित्रले अहिलेसम्मकै उत्कृष्टता हासिल गर्ने सामाजिक अभियन्ता डा राजु अधिकारीले विश्वास व्यक्त गरे ।

रञ्जु प्रधान, उत्तम कार्की, डिआर उपाध्याय र सञ्जिव न्यौपानेले निर्माण गरेको चलचित्रमा राजाराम पौडेल, अनुरोध ढुङ्गाना, रश्मी भट्ट, रवि डङ्गोल, अमित पोख्रेल, एनबी गुरुङ, मनोज गजुरेल, करुणा श्रेष्ठलगायतको भूमिका रहेको छ । चलचित्रमा राजाराम पौडेल र मनोज गजुरेलको विशेष भूमिका रहेको छ ।