पर्यटन/संस्कृति

सांस्कृतिक सम्पदा संरक्षणमा जोड

काठमाडौँ । भूकम्पमा भत्किएका पुरातात्विक महत्वका धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ ।

संवाद चौतारीले आज यहाँ आयोजना गरेको ‘पुरातात्विक सम्पदा संरक्षणमा राज्यको भूमिका’ विषयक अन्तक्र्रियामा सहभागी वक्ताले प्राचीन मठ, मन्दिर, गुम्बा, विहारलगायत सम्पदा मर्मत तथा जीर्णोद्धारका कार्य हुन नसकेकामा चिन्ता व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौलाले सम्पदाले समाजको सभ्यतालाई अध्ययन गर्न सहयोग पुग्ने बताउँदै यिनको मौलिकतालाई ध्यान दिइनुपर्ने र सरकारलाई मर्मतमा संवेदनशील हुन आग्रह गरे ।

पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले विगतमा सरोकार पक्षसँगको समन्वय र सहकार्यको अभावले गर्दा चालू आवमा १०१ सम्पदा मर्मत तथा पुनःनिर्माणका लागि रु एक अर्ब आठ करोड बजेट विनियोजन गरिएको जानकारी गराए ।

बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तुपामा ड्रिल यन्त्रको प्रयोग गर्न नहुने विचार व्यक्त गरे । कार्यक्रम आयोजक संस्थाका अध्यक्ष गोविन्द चौलागाईंले नेपाली कलाशैली तथा मौलिकताको प्रयोग गरी निर्माण भएका सम्पदाले पर्यटकलाई आकर्षित गरिरहेको बताए । उनले यसले अन्तर्राष्ट्रिय तहमा देशको गौरब बढाएका कारण संरक्षणमा सरकारले लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए ।