कृषि

सुन्तला खेती गर्ने किसानको संख्या बढ्दै

बागलुङ । विसं २०३७ ताका आफ्नो गाउँमा सुन्तला खेती गर्ने एक्लो किसान हुन् टोपबहादुर खड्का । अन्नबाली छाडेर सुन्तला लगाउँदा कतिले त उनको खिस्सी पनि गरे । सुन्तलाबाट के आम्दानी होला र भन्ने आशङका थियो । सुन्तलाले व्यावसायिक सफलता दिलाउला भनेर कमैले सोचेका थिए ।

तर, सो गाउँमा सुन्तला खेती अहिले बढ्दै गएको छ । आम्दानीको भरपर्दो स्रोत हुँदै गएपछि सुन्तला लगाउने किसानको सङ्ख्या क्रमशः बढ्दो छ । विरुवा थप्दै जाने र उत्पादन लिने क्रम पनि बढीरहेको स्थानीयवासी बताउँछन् । गाउँमा सुन्तला लगाउने अहिले खड्का मात्रै एक्लो छन् । गाउँका झण्डै डेढ सय किसान सुन्तला खेतीमा लागेका छन् । बागलुङ नगरपालिका–८ सिगाना ‘सुन्तला गाउँ’ ले चिनिन थालेको छ । “शुरुमा सुन्तला खेती गर्दा म एक्लै थिएँ,” ६० वर्षीय खड्काले भने, “अहिले त गाउँभरि सुन्तला छ ।”

खड्काले शुरुमा सय बोट लगाएर सुन्तला खेती शुरु गरेका थिर्ए । अहिले उनको बगैचामा नयाँ पुराना दुई सय सुन्तलाका बोट छन् । वर्षमा चार लाख बराबरको सुन्तला फल्ने खड्काको भनाइ छ ।

अर्का अगुवा किसान अनन्त खड्काले पनि आठ रोपनी क्षेत्रफलमा सुन्तला खेती गर्दै आएका छन् । “वार्षिक तीन÷चार लाख सुन्तलाबाट कमाई हुन्छ,” उनले भने। अनन्तले पनि विसं २०३८ देखि सुन्तला खेती गर्दै आएका छन्। वडास्तरीय कृषि समितिका अनुसार सिगानामा एक हजार रोपनीमा सुन्तला खेती भइरहेको छ । गत आवमा रु ८२ लाखको सुन्तला सिगानाबाट बाहिरिएको आँकडा समितिसँग छ ।

असिनाले चुटेका कारण यो वर्ष सुन्तला उत्पादन घटेको समितिका अध्यक्ष रेशम थापाले बताए । “यो वर्ष करीब ६५ लाखको सुन्तला फलेको अनुमान छ,” उनले भने ।

काठमाडौँ, चितवन, पोखराजस्ता ठूला शहरबाट आउने व्यवसायीले सिगानाका सुन्तला खरीद गर्छन् । “कहिँलेकाहीँ बगैँचा ठेक्कामा बिक्री हुन्छ,” थापाले भने, “टिपेर बेच्दा प्रतिकिलो रु ५० देखि ६० मूल्य पर्छ ।”

साना डोके व्यापारीले पनि किसानसँग किनेर बजारमा ल्याई बेच्ने गरेका छन् । सिगानामा बर्षेनी सुन्तला खेती विस्तार हुँदै गएको छ । गत आवमा मात्र १४ हजार नयाँ बिरुवा रोपिएको थियो । प्राविधिक र व्यवस्थापकीय सहयोग भएमा सुन्तला खेती अझै बढाउने सोचमा किसान छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ‘सुन्तला जोन’ कार्यक्रममा सिगाना पनि समावेश छ । सुन्तलाको उत्पादन वृद्धि र बजारीकरणमा सहयोग पुग्ने गरी कार्यक्रम ल्याइने ‘सुन्तला जोन’का प्रमुख बमबहादुर थापाले बताए । उनले सन्तुला उत्पादनका लागि सिगाना उर्वर ठाउँ भएको उल्लेख गरे ।

किसानले कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजनाबाट समेत सहयोग पाएका छन् । आयोजनाको १० लाख अनुदानमा स्थानीय सिर्जना बहुउद्देश्यीय कृषक समूहले सुन्तला भण्डारणका लागि ‘सेलर स्टोर’ बनाएको छ । अन्नबाली भन्दा सुन्तला खेती गर्दा नगद आम्दानी हुन थाले पनि किसान सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका हुन् । जिल्लामा करीब पाँच हजार हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । सिगानासँगै बिहुँ, तित्याङ, दमेक लगायतका ठाउँ सुन्तला खेतीका लागि ‘पकेट’ मानिन्छन् ।