साहित्य

पहिलो पटक हाइकु प्रदर्शनी

परासी । सामान्यतः साहित्यिक रचनाहरु लेखन वा वाचन गरी स्रोता, दर्शक वा पाठकमाझ प्रस्तुत गरिन्छ । तर अब साहित्यलाई प्रदर्शनी पनि गरिने भएको छ । छोटो साहित्यको रूपमा परिचित हाइकु विधालाई प्रदर्शनी गरी आम जनसमुदायमा परिचित गराउन नेपालमा पहिलो पटक पश्चिम नवलपरासीमा नौलो अभ्यास गर्न लागिएको हो ।

‘कवि खगेन्द्र बस्यालको एकल हाइकु रचना प्रदर्शनी’ कार्यक्रम बर्दघाट नगरपालिका–१२ भटौलिया बजारमा पुस १४ गते जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजनामा हुन लागेको हो । नेपाल रेडक्रस सोसाइटी बुद्धमङ्गल उपशाखा, मझेरी आमा समूह र सिर्जनशील आमा समूह जहदाको सहआयोजना रहने सो कार्यक्रममा कवि बस्यालका हाइकुलाई प्लेकार्डमार्फत प्रदर्शन गरिने पुस्तकालयका अध्यक्ष सुरज केसीले जानकारी दिए ।

कार्यक्रममा नवलपरासी, रुपन्देही, चितवनलगायतका वरिष्ठ साहित्यकार, साहित्यप्रेमी, आमा समूह, विद्यार्थी तथा सर्वसाधारण गरी करीब ५०० को सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यक्रमबाट प्रत्यक्ष ५०० र अप्रत्यक्ष रुपमा एक लाख मानिसले हाइकुको बारेमा बुझ्ने र जानकारी लिन पाउने उनले बताए ।

स्थानीय मिडिया तथा सामाजिक सञ्जालबाट कार्यक्रमको प्रत्यक्ष प्रसारण हुने आयोजकले जनाएको छ । यसबाट साहित्यप्रति थप रुचि जाग्ने र हाइकुलाई परिचित गराई नेपाली साहित्यमा स्थापित गराउन थप मद्दत पुग्ने आयोजकको विश्वास छ । हाइकुको माध्यमबाट देशको परिस्थितिलाई झक्झक्याउने भएकाले कवि बस्यालको कलालाई उजागर गर्न समेत प्रदर्शनीले टेवा पुग्ने कार्यक्रम संयोजक साहित्यकार दीपक बरालले बताए ।

तीन हरफे र सत्र अक्षरको संरचनामा लेखिने हाइकु विधा अन्य विधाभन्दा छोटो हुने भएकाले नेपालमा नयाँ प्रयोग गर्न लागिएको उनको भनाइ छ । हाल रुपन्देही निवासी बस्यालले नवलपरासी, रुपन्देही, पाल्पा, स्याङ्जालगायतका जिल्लामा पुगेर हाइकु सुनाउने गरेका छन् । प्रकृतिप्रेम, देशप्रेम अनि राजनीति र विविधता पाइने उहाँको हाइकुले नेपाली साहित्यमा छुट्टै स्थान बनाएको छ ।