तस्विरहरु

भूकम्पसम्बन्धी फोटो प्रदर्शनी

काठमाडौँ । भूकम्पले पु¥याएको क्षति र पुनःनिर्माणका काम समेटेर फोटो प्रदर्शनी शुरु भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आयोजनामा आजदेखि नेपाल कला परिषद्मा शुरु भएको प्रदर्शनी तीन दिनसम्म चल्नेछ । प्रदर्शनीको उद्घाटन गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावलीले भूकम्पको अवधि र त्यसपछिको पुनःनिर्माणसम्बन्धी गतिविधि समेटेर सङ्ग्रहालय निर्माण गर्ने योजना रहेको बताए । प्रदर्शनीले भूकम्प र पुनःनिर्माणको वास्तविक काम जनतासमक्ष पु¥याउन सहयोग पुग्ने उनले बताए । उनले भने, “हाम्रो पुस्ताको ज्ञान र अनुभवलाई भावी पुस्तालाई हस्तान्तरण गर्न खाँचो छ ।”

प्रदर्शनीमा भूकम्प प्रभावित जिल्लाका करीब १०० फोटो राखिएको छ । प्रदर्शनी चार खण्डमा हुँदैछ । पहिलो खण्डमा भूकम्पपश्चात् भूकम्प प्रभावित व्यक्तिले कसरी एक–अर्कालाई सहयोग गरेका थिए भनेर देखाइएको छ । दोस्रो खण्डमा भूकम्पपछिको जटिल अवस्थाबाट पुनःनिर्माण र पुनःस्थापनामा आएको चरणलाई देखाइएको छ । तेस्रो खण्डमा भूकम्पबाट क्षति पुगेका संरचनाको अवस्था र पुनःनिर्माणपछि तिनीहरूको अवस्थासम्बन्धी तस्वीर राखिएको छ । अन्तमा पुनःनिर्माण र पुनःस्थापनाका विभिन्न चरणमा भइरहेका काम तथा गतिविधिसँग सम्बन्धित सामग्री प्रदर्शन गरिएको छ ।