कृषि

सुनिएन दूग्ध उत्पादक किसानका गुनासा, देखिए निरास

बाँके । दुग्ध उत्पादक किसानहरु उचित मूल्य, पर्याप्त सरकारी अनुदान र बजारको समस्याका कारण निरास देखिन्छन् । किसानको जीवनस्तरमाथि उकास्ने हो भने सरकारी अनुदानको दायरा बढाएर दूधको उचित मूल्य निर्धारण गर्नुपर्छ । दूध व्यवसायबाट किसान तल पर्दै गएको र दूध खरीद गर्ने व्यवसायी भने मोटाउँदै गएको किसानको गुनासो छ । दुग्ध उत्पादक कृषकलाई प्रोत्साहन गरिएमा अझै भारतबाट ठूलो परिमाणमा दूध आयात गर्नुपर्ने वाध्यताको अन्त्य हुने दुग्ध उत्पादक किसान सङ्घ बाँकेले जनाएको छ ।

दुधबाट बाँके जिल्ला आत्मनिर्भर हुन थालेको पशु सेवा कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार दूध उत्पादन बढेपछि भारतबाट आउने दूधको माग घट्दै गएको छ । किसानले विभिन्न खरीद केन्द्रमा जम्मा गरेको दूध कोहलपुरको पिपरीस्थित दुग्ध विकास आयोजनाले खरीद गरेर ल्याउने गरेको छ । त्यसका लागि ठाउँ ठाउँमा खरीद केन्द्र स्थापना गरिएका छन् ।

बाँके जिल्लामा दैनिक करीब दुई लाख लिटर दूध उत्पादन हुने गरेको छ । जिल्ला पशु सेवा कार्यालय बाँकेका अनुसार जिल्लामा दैनिक एक लाख ९८ हजार ७८० लिटर दूध उत्पादन हुन्छ ।

पशु कार्यालयका अनुसार जिल्लाबाट दैनिक तीन हजार लिटर दूध राजधानी समेत जाने गरेको छ । यातायातको असुविधाले नेपालगञ्ज ल्याउन नसक्दा जिल्लाको विकट तथा राप्तीपारिको क्षेत्रबाट दैनिक एक हजार लिटर दूध भारतमा बिक्री हुने गरेको छ । जिल्लाको फत्तेपुरमा एक हजार ६०० लिटर बराबरको दूधबाट खुवा बनाएर बिक्री गरिन्छ ।

दूधमा रहेको चिल्लोको मात्रा अनुसार मूल्य निर्धारण गरिने गरिएको पशु सेवा कार्यालयले जनाएको छ । अहिले किसानले पाइरहेको मूल्य धेरै कम र धेरै बढी पनि दुबै नरहेको ठहर गर्दै मूल्यवृद्धिको पक्षमा आफू पनि रहेको कार्यालयको भनाइ छ ।

बाँकेमा रहेका सहकारीले मात्रै निकै आठ हजार ५०० लिटर दूध उत्पादन गर्ने गरेको सङ्घका अध्यक्ष प्रेमप्रसाद सुवेदीले जानकारी दिनुभयो । बाँकेमा ४०९ सहकारी संस्था रहेका छन् । यी सहकारीमा एक लाख ६५ हजार सदस्य रहेका छन् ।

राप्तीपारिका किसानलाई समस्या

यता बाँकेकै राप्तीपारी नरैनापुर गाउँपालिकामा व्यवस्थित दूध सङ्कलन केन्द्र नहुँदा दूध उत्पादक किसान समस्यामा पर्दै आएका छन् । उचित बिक्री केन्द्रको अभावमा सो क्षेत्रका कृषकले उत्पादन गरेको दूध बिक्री गर्न समस्या भएको छ ।

सङ्कलन तथा बिक्री केन्द्रकै प्रभावकारी र व्यवस्थित नहुँदा उनीहरूको लगानी समेत डुब्ने अवस्थामा पुग्दा किसान चिन्तित छन् । यातायात, शिक्षा तथा स्वास्थ्यबाट समेतपछि परेका यी गाउँपालिकामा लगानी अनुसार नाफा नहुनु र सम्बन्धित क्षेत्रले किसानको समस्या नबुझ्नुले किसान पशुपालन व्यवसायबाटै पलायन हुने अवस्था आएको देखिएको छ ।

बाँकेको गङ्गापुर, फत्तेपुर, मटेहिया, कालाफाँटा, लक्ष्मणपुर, कटकुईया, बैजापुर र बिनौना सदरमुकामदेखि टाढा रहेको र सो क्षेत्रमा उपयुक्त दूध सङ्कलन, प्रशोधन र बिक्री केन्द्र नरहेकाले त्यहाँका ७० प्रतिशत किसानले पशुपालनबाट आम्दानी गर्न सकेका छैनन् ।

मजजूरी र पशुपालन नै जीविकोपार्जनको मुख्य आधार भए पनि पशुपालनबाट उत्पादन हुने दूध, दही र अन्य परिकारको बिक्री वितरण गर्ने ठाउँ नभएपछि गुजारा चलाउन समस्या परेको मटेहियाका कृषक महाजन यादवले बताउनुभयो । कडा परिश्रम गरी भैंँसी पालेको भए पनि दूध बिक्री गर्ने बजार नपाएर श्रम खेर गइरहेको यादवको भनाइ छ ।

नेपालगञ्जमा ३५ देखि ४० प्रतिलिटर बिक्री हुने दूध मटेहियामा भने १८ देखि २० रुपैयाँ प्रतिलिटर मात्र बिक्री गर्नुपर्ने बाध्यता रहेको यादवले बताए । यस क्षेत्रका स्थानीय गाउँपालिकामा दूध सङ्कलन केन्द्र र नजिकै उचित बजार नभएका कारण भारतको ककरदरीमा लगेर १०–११ भारतीय रुपैयाँमा बेच्न बाध्य भएको यादवले जानकारी दिए ।

नजिकमा डेरी नभएका कारण भारतीय बजारमा लैजानुपर्ने बाध्यता यहाँका किसानको रहेको छ । राप्तीपारिका किसानले रहरले नभइ बाध्यता र मजबुरीले भारतीय बजारसम्म दूध बेच्दै आएको फत्तेपुरका किसान दुर्गापति चौधरी बताउछन् ।