पु.समाचार

अधिकांश स्थानीय तहको समायोजन सकियोः उपसचिव निरौला

काठमाडौँ । कर्मचारी समायोजन अध्यादेश–२०७५ जारी भएपछि पहिलो चरणमा अधिकांश स्थानीय तहमा कर्मचारीको समायोजन सकिएको छ ।

स्थानीय तहमा कार्यरत स्थायी कर्मचारीको अधिकांश समायोजन सकिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव अनिता निरौलाले जानकारी गराईन् । उनले तत्कालीन स्थानीय निकायमा स्थायी भएका कर्मचारीको अध्यादेशअनुसार सोही स्थानीय तहमा नै समायोजन भएको बताईन् ।
समायोजन भएका कर्मचारीलाई सम्बन्धित स्थानीय तहले अध्यादेश प्रारम्भ भएको मितिले १० दिनभित्र समायोजन भएको पत्र दिनुपर्ने व्यवस्थाअनुसार स्थायी कर्मचारीको समायोजन गरिएको हो । स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई सोही तहका प्रमुख प्रशासकीय अधिकृतले समायोजनको पत्र दिएका छन् । उपसचिव निरौलाले केही कर्मचारीको प्राविधिक समस्या आएकाले चाँडै समायोजन सकिने बताईन् । उनका अनुसार स्थानीय तहमा समायोजन भएका कर्मचारीको विवरण मन्त्रालयमा सङ्कलन भइरहेको छ । मन्त्रालयले अब सङ्घका कर्मचारीलाई प्रदेश र स्थानीय तहमा समायोजन थाल्ने छ ।