गण्डकी प्रदेश

प्रहरीलाई साइकल सहयोग

दमौली । तनहुँ सुनचाँदी व्यवसायी सङ्घले जिल्ला प्रहरी कार्यालयलाई साइकल उपलब्ध गराएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बजार क्षेत्रमा सुरक्षा गस्ती गर्न सहजहोस् भन्ने उद्देश्यले सङ्घले प्रहरीलाई रु २५ हजार बराबरको चार थान साइकल सहयोग गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष मोहनकुमार विकले प्रहरी उपरीक्षक शिद्धीविक्रम शाहलाई साइकल हस्तान्तरण गरे ।

व्यवसायी सामाजिक काममा समेत सहभागी हुनुपर्ने मान्यताअनुसार प्रहरीलाई साइकल प्रदान गरिएको उनको भनाइ छ । प्रहरी र व्यवसायीबीच सुमधुर सम्बन्ध कायम हुनुपर्नेमा जोड दिँदै उनले यस किसिमको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिइने बताए ।

प्रहरी उपरीक्षक शाहले शान्ति सुरक्षा प्रदान गर्ने दायित्व प्रहरीको भएकाले समुदायको सहयोगबाट मात्रै सो काम पूरा गर्न सकिने बताए ।

उनले शान्ति सुरक्षाले मात्रै विकास सम्भव रहेकाले जनतालाई प्रहरीप्रति विश्वास बढाउन आवश्यक रहेकोमा जोड दिए ।