बाग्मती

युवाको रोजाइमा बालाजु बाइसधारा

काठमाडौँ । पछिल्लो समय बाइसधारा उद्यानतर्फ युवा पुस्ताको आकर्षण बढ्दै गएको छ । वातावरणीय हिसाबले स्वच्छ, सफा र सुन्दर खुला स्थानको अभाव खड्किरहेको अवस्थामा बाइसधारा उद्यानले युवा पुस्ताको मन तान्न सफल भएको छ ।

नागार्जुनको फेदीमा अवस्थित बाइसधारा उद्यानमा दैनिक घुम्न आउने, वनभोज, विवाह र ब्रतवन्ध गर्नेको रोजाइमा पर्न थालेको उद्यानका कार्यालय प्रमुख दामोदर लामाले बताए । “दैनिक पाँच सयदेखि छ सय जनासम्म अवलोकन गर्न आउने गरेका छन्, विशेष पर्व र विवाहमा आउनको सङ्ख्या अत्यधिक छ,” उनले भने । उद्यानमा माया साट्न आउने जोडीको आगमन पनि बढ्दो छ । “यहाँको वातावरणमा मन आनन्दित हुन्छ”, मनमैजुबाट घुम्न आएकी इन्दिरा खड्काले बताइन् ।

त्यस्तै धर्मस्थलीबाट आएका अनिल थापा यहाँ आएपछि दुई–तीन घण्टा नबसी जानै मान लाग्दैन । “यहाँको परिवेशले सारा दुःख नै बिर्सन्छु”, उनले भने। करीब १६२ रोपनी क्षेत्रफलमा फैलिएको ऐतिहासिक, सांकृतिक, धार्मिक र मनोरञ्जनका दृष्टिले महत्वपूर्ण बाइसधारा २०१८ जेठ २७ गते शिलान्यास भई २०२१ जेठ २७ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको हो । उद्यान समयानुसार महेन्द्र उद्यान, बालाजु पार्क, वाटरगार्डेन हुँदै हाल बालाजु बाइसधारा उद्यानका नामले परिचित छ ।

उद्यानमा प्रवेश शुल्क विदेशी नागरिकका लागि प्रतिव्यक्ति रु ७५, नेपाली नागरिकका लागि प्रतिव्यतिm रु २५ र विद्यार्थीका लागि रु १५ कायम गरिएको छ । उद्यानमा म्युजिक भिडियो छायाङ्कनका लागि रु पाँच हजार, नेपाली चलचित्र छायाङ्कनका लागि रु १० हजार तथा विदेशी चलचित्र छायाङ्कनका लागि रु २० हजार शुल्क निर्धारण गरिएको छ । तत्कालिन राजा जयप्रकाश मल्लले सन् १७३६ मा उक्त क्षेत्र जताततै पानीले जलमग्न भएका कारण पोखरी निर्माण गरेका थिए । त्यसको केही वर्ष पछि राजा रणबहादुर शाहले २१ धाराको बीचमा एउटा अरु भन्दा ठूलो धारा थपी २२ धारा पु¥याएको बताइन्छ । त्यसपछि बिधिवत रुपमा यस स्थलको नाम बालाजु बाइसधारा रहन गएको हो ।

यहाँ विवाह र ब्रतवन्धका लागि रु पाँच हजार तथा वनभोजका लागि रु दुई हजार शुल्क कायम गरिएको छ । धार्मिक उद्देश्यले पनि बाइसधारा उद्यान त्यत्तिकै महत्वपूर्ण छ । उद्यानभित्र कृष्ण मन्दिर, कुमारीस्थान, वनकाली मन्दिर, बाल बुद्धबूढानीलकण्ठ, सितलामाई मन्दिर र रत्नचुडेश्वर महादेवको दर्शन गर्न यहाँ दर्शनार्थी आउने गरेका छन् । चैत्र शुक्ल पूर्णिमामा बाइसधारामा नुहाउँदा गोँसाईकुण्ड र मुक्तिनाथमा नुहाए बराबरको पुण्य प्राप्त हुनाका साथै रोग ब्याधी हराउने जनविश्वास छ ।

तिजमा हजारौँको सङ्ख्यामा महिला यहाँ दर्शन गर्न आउने गरेका छन् । यहाँ मन्दिरसँगै बौद्ध गुम्बासमेत छ । आदिकवि भानुभक्त आचार्यले ‘यति दिनपछि मैले आज बालाजु देख्या, पृथ्वी तल भरीमा स्वर्ग हो जानी लेख्याँ’ कविता समेत रचना गर्नुभएको छ । विसं २०५१ मा भानु जयन्तीका अवसरमा यहाँ उहाँको शालिकसमेत स्थापना गरिएको छ । गर्मी याममा यहाँ पौडीपोखरी समेत सञ्चालन गरिन्छ । यो काठमाडौँ उपत्यकाको सबैभन्दा पुरानो सार्वजनिक पौडी पोखरी पनि हो ।