समाचार

मानवअधिकार आयोगमा उजूरी कम

रुपन्देही । राष्ट्रिय मानवअधिकार आयोगमा यो आर्थिक वर्षमा तीन वटा मात्रै उजूरी परेको छ । आयोगको प्रदेश नं ५ प्रदेश कार्यालय बुटवलमा यो आर्थिक वर्षको चार महीनामा अनुसन्धान गर्नुपर्ने प्रकृतिका तीन मात्रै उजूरी परेको मानवअधिकार अधिकृत दीपक ठाकुरले जानकारी दिए ।

यो आर्थिक वर्षमा साउनमा दुई र भदौमा एक मात्रै उजूरी परेको र अन्य केही समान्य उजूरी मेलमिलापबाटै टुङ्गिने हुँदा तथ्याङ्कमा नराखिएको उहाँले बताउनुभयो । आयोग स्थापना भएयता बुटवलमा यो आर्थिक वर्षसम्म जम्माजम्मी ५७९ उजूरी दर्ता भएका छन् । जसमध्ये १८५ उजूरीको अनुसन्धान प्रक्रियाबाट टुङ्गो लागेको आयोगका प्रदेश प्रमुख पवनकुमार भट्टले जानकारी दिए ।

अहिलेसम्म नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी १२६, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी १३१, महिला अधिकारसम्बन्धी पाँच, बालअधिकारसम्बन्धी छ, बेपत्ता ५५, अपहरण १२, ज्येष्ठ नागरिकको अधिकार दुई, यातना ५५, जातीय विभेद दुई गरी ३९४ विषयगत उजूरी परेको प्रमुख भट्टले बताए ।

पछिल्लो समयमा स्थानीय तहका उजूरी न्यायिक समितिमा जाने हुँदा आयोगमा उजूरी कम आउने गरेको उनले बताए । “घटना कम भएका कारण उजूरी कम आएको होइन, पछिल्लो समयमा न्यायिक समितिले अधिकार पाएपछि कतिपय उजूरी समितिमै जान्छन्”, उनले भने, “नागरिकका अधिकारको रक्षा गरी मानवअधिकार उल्लङ्घन गर्नेलाई कारवाही गर्ने दायित्व स्थानीय सरकारको पनि हो ।”