राजनीति

नेकपाको स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठकमा आज पनि राजनीतिक प्रतिवेदनमाथिको छलफल भएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा धूम्रबाराहीमा भएको बैठकमा केशवप्रसाद बडाल, टोपबहादुर रायमाझी, भीमबहादुर रावल, योगेश भट्टराई, शङ्कर पोखरेल, सत्यनारायण मण्डल, सोमनाथ प्यासी र पृथ्वीसुब्बा गुरुङले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आ आफ्नो विचार व्यक्त गरे् ।

सोमबारको बैठकमा १० सदस्यले धारणा राख्दै सरकार र पार्टी नेतृत्वका काम सन्तोषजनक नभएको भन्दै असन्तोष व्यक्त गरेका थिए ।
गत शनिबार शुरु भएको ४५ सदस्यीय स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा छलफल जारी रहेको हो ।

प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, यसबीचमा सचिवालयबाट भएका निर्णय र जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय समाविष्ट छन् । बैठकमा सचिवालय सदस्य वामदेव गौतमले अध्यक्षद्वयको प्रतिवेदनमा पूरक प्रतिवेदन पेश गरेका थिए । बैठक बुधबार बिहान ८ बजे पुनः बस्नेछ ।