राजनीति

नेकपा स्थायी कमिटी सदस्यहरुले भने, ‘सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेन्, पार्टी विधिसम्मत चलेन’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैकठमा धारणा राखेका अधिकांश स्थायी कमिटी सदस्यहरुले सरकार र पार्टी नेतृत्वको चर्को आलोचना गरेका छन् ।

शनिवार पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा स्थायी कमिटीका सदस्यहरुले अध्यक्षद्वय र वामदेव गौतमले पेश गरेको दस्तावेजमाथि आफ्नो धारणा राखेका थिए । उनिहरुले पार्टी विधिसम्मत नचलेको र सरकारले जनअपेक्षाअनुसार काम नगरेको निष्कर्ष समेत निकालेका छन् ।

बैठकमा बामदेव गौतमसहित अग्नी सापकोटा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, मुकुन्द न्यौपाने, हरिबोल गजुरेल, गणेश शाह, बेदुराम भुसाल र शक्ति बस्नेतले आइतवारको बैठकमा आफ्नो धारणा राखेका थिए । गौतमले शनिबारकै बैठकमा लिखित स्थायी कमिटी सदस्यहरुलाई बाँडेका थिए । आइतबार उनले त्यसबारे प्रष्ट्याउनुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिएको अभिव्यक्तिको समेत आलोचना गरेको बताइएको छ ।

बैठकमा बोल्ने नेताहरुले पार्टी विधान र विधि अनुसार नचलेको धारणा राखेका छन् । पार्टी एकता प्रक्रियाले गति दिन नसकेको, प्रदेश कमिटी गठन मापदण्ड अनुसार नभएको भन्दै उनीहरुले नेतृत्वको आलोचना गरेका छन् । ‘कसैले चर्को स्वरमा बोले होलान्, कसैले सानो स्वरमा बोले तर, पार्टीको सचिवालयले विधि र विधानअनुसार काम नगरेको सबैको धारणा थियो ।’

सरकारभन्दा पार्टी नेतृत्वको धेरै आलोचना भएको छ । सरकारले जनअपेक्षाअनुसार काम नगरेको नेताहरुले बताएका छन् । अध्यक्षद्वयको प्रस्तावमा उपलब्धी नै उपलब्धी देखाए पनि ९ महिनामा जनअपेक्षाअनुसार काम नभएको उनीहरुले बताए । वनमन्त्री समेत रहेका शक्ति बस्नेतले भने ९ महिनामा केके नै गर्न सकिन्थ्यो भनेर हेर्न नहुने धारणा राखेका थिए ।

बैठकपछि स्थायी कमिटी सदस्य योगेश भट्टराईले दुई तिहाइ नेतृत्वको सरकारले राम्रो काम गर्न नसकेको भन्दै आलोचना गरे । ‘सरकारका काम कारवाही त्यति प्रभावकारी छैनन्, केही राम्रो काम गरेको छ तर कतिपय निर्णयहरु गर्दा पार्टीमा कुनै छलफल भएन ।’

अर्का नेता घनश्याम भुसालले पार्टीको सचिवालय असफल भएको बैठकपछि सञ्चारकर्मीहरुसँग बताए । सचिवालय असफल भयो, सचिवालयको व्यक्तिगत क्षमता र योग्यता देखियो’ भुसालले भने,‘प्रदेश कमिटीहरुमा आफ्ना मान्छे खोजिखोजी राख्ने काम भयो ।’

आइतवारको बैठकमा नेता हरिबोल गजुरेलले छुट्टै प्रस्ताव पेश गरेका छन् । उनले पार्टी सञ्चालन र सरकार सञ्चालन बारे आफ्नो प्रस्तावमा धारणा राखेका छन् ।