प्रदेश 1

कोशी करिडोरको समस्या समाधान गर्न समन्वय हुन्छः मुख्यमन्त्री राई

काठमाडौँ । कोशी करिडोर प्रसारण लाइन आयोजनामा देखिएको समस्या समाधानका लागि प्रदेश नं १ ले विशेष पहल गर्ने भएको छ ।

सो प्रदेशका मुख्यमन्त्री शेरधन राईले सुनसरी, धनकुटा, तेह्रथुम र सङ्खुवासभामा आयोजनालाई वन क्षेत्रको जग्गा प्रयोग गर्न भोगाधिकार दिने विषयमा रहेको समस्या समाधानका लागि आफूले पहल गर्ने जानकारी दिए ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)ले आज यहाँ आयोजना गरेको छलफल कार्यक्रममा उनले वन क्षेत्रको जग्गाको सट्टा भर्ना उपलब्ध नगराए छपान तथा कटानको प्रक्रिया अगाडि बढाउन समस्या भएकाले तत्काल उक्त समस्या समाधानका लागि पहल गर्ने उनको भनाइ थियो ।

धरान उपमहानगरपालिका–२० मा रहेको चिन्डे डाँडा क्षेत्रबाट जाने प्रसारण लाइन सार्न पत्राचार भएको अवस्थामा आयोजना नै प्रभावित हुने भन्दै उक्त समस्या समाधानका लागि मुख्य मन्त्री राईलाई आग्रह गरिएको हो । उपमहानगरले धार्मिक पर्यटन, प्रस्तावित ब्रिटिश गोरखा मेमोरियल पार्क, प्रस्तावित बाटोनिकल बगैँचा, ओशो ध्यान शिविर, प्यारा ग्लाइडिङलगायतमा समस्या पर्ने भन्दै प्रसारण लाइन सार्न आग्रह गरेको छ ।

मुख्यमन्त्री राईले प्रदेश सरकार समस्या समाधानका लागि आवश्यक समन्वय गर्न तयार रहेको बताए । सो अवसरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समस्या समाधानका लागि प्रदेश सरकार र स्थानीय तहलाई समन्वय गरिदिन आग्रह गरे ।

उहाँले सो प्रसारण लाइनबाट निर्माणाधीन आयोजनाको करीब ५०० मेगावाट क्षमताको विद्युत् प्रवाह हुने भएकाले जति समय ढिला भयो त्यति नै थप समस्या आउने बताए । कार्यक्रममा सो प्रदेशका प्रदेशसभा सदस्य, इपानका प्रतिनिधिलगायतले उक्त लाइन निर्माणमा देखिएको समस्या समाधानका लागि साझा प्रयास जरुरी रहेकोमा जोड दिए ।

विसं २०७३ बाट निर्माण शुरु भएको सो प्रसारण लाइन आर्थिक वर्ष २०७७/७८ सम्म सम्पन्न भइसक्नुपर्नेछ । वन क्षेत्रमा जग्गा र रूख कटान समस्याले अपेक्षाकृत रुपमा आयोजनाले गति लिन सकेको छैन । वनले जग्गा उपयोग र रूख कटानको स्वीकृत नदिँदा अहिले निजी जग्गामा मात्रै प्रसारण लाइनको काम गर्नुपर्ने अवस्था रहेको छ । वन क्षेत्रमा १३ हजार रूख काट्नुपर्ने भएको छ ।

यस्तै सङ्खुवासभामा विद्यमान क्रसर उद्योग बन्द भएकाले निर्माण सामग्रीको अभाव देखिएको छ । निर्माण सामग्रीको अभावमा तुम्लिङटार र बानेश्वर सबस्टेशन निर्माण कार्य प्रभावित भएको बताइएको छ ।