खेलकुद

सङ्कटा विजयीः सरस्वती र जावलाखेलले बराबरी खेले

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज भएको दोस्रो खेलमा सङ्कटा क्लबले फ्रेण्ड्स क्लबलाई पराजित गर्दै उपाधि होडको यात्रालाई कायमै राखेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा आज भएको खेलमा सङ्कटा क्लबले फ्रेण्ड्स क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अङ्क जोड्यो ।

सङ्कटाको जीतमा २५ औँ मिनेटमा इलोन म्याक्सवेलले गोल गरेका थिए । पहिलो हाफमा १–० ले अग्रता बनाएको खेलको दोस्रो हाफको पहिलो मिनेटमा प्रिजेन तामाङको गोलमार्फत फ्रेण्ड्स खेल बराबरीमा ल्याउन सफल भयो । तर ५४ औँ मिनेटमा ताम्पी इयर्नेस्टले गोल गर्दै सङ्कटालाई पुनः अग्रता दिलाउन सफल भए । ५७ औँ मिनेटमा दीपेश आलेमगरले गोल गर्दै सङ्कटाको जीत निश्चित गरेका थिए ।

जीतसँगै सङ्कटाले शीर्ष स्थानको मनाङसँग अङ्क बराबरी गरेको छ । सङ्कटाले नौ खेलबाट २४ अङ्क जोडेको छ । सङ्कटाभन्दा शीर्ष स्थानको मनाङले एक खेल कम खेलेको छ । मनाङको पनि २४ अङ्क नै छ । हारसँगै फ्रेण्ड्स पाँच अङ्कसहित ११ औँ स्थानमा यथावत् छ ।

जीतसँगै सङ्कटाले उपाधि होडमा आफूलाई कायम राखेको छ । सङ्कटाको जीतले शीर्ष स्थानको मनाङ र तेस्रो स्थानको थ्री स्टारमाथि दबाब बढेको छ । यसैगरी आजै भएको अर्को खेलमा सरस्वती युथ क्लब र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अङ्क बाँँडेका छन् । एन्फा मैदानमा भएको खेलमा सरस्वती र जावलाखेलले गोलरहित बराबरी खेलेका हुन् ।

बराबरीपछि जावलाखेलले आठ अङ्कक जोड्दै दशौँ स्थानमा छ । सरस्वती १० अङ्कसहित नवौँ स्थानमा छ । मङ्गलबार एपिएफ र मछिन्द्र क्लबबीच पहिलो तथा च्यासल युथ क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच दोस्रो खेल हुनेछ ।