लुम्बिनी

देशभरका शिक्षाविद् बुटवलमा जुट्दै

खस्यौली । बुटवल उपमहानगरपालिकामा देशभरका शिक्षाविद्को जमघट हुने भएको छ । अबको शैक्षिक पाठ्यक्रमका विषयमा बहस चलाउने र तीन तहका सरकारको खाकामा शिक्षाविद्ले जमेर छलफल गर्ने बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

यस जमघटको लागि तयारी समिति गठन गर्दै बुटवल उपमहानगरपालिकाले वृहत शैक्षिक सङ्गोष्ठी नाम दिएको कार्यक्रम मुलुकमा पहिलो पटक हुन लागेको दाबी गरिएको छ ।

सीपमूलक विषयसहितको अबको शैक्षिक पाठ्यक्रम कस्तो बनाउने र जनशक्ति उत्पादन तथा व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा खाका तयार पार्न यस्तो शैक्षिक सङ्गोष्ठीको तयारी भइरहेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिव सुवेदीले जानकारी दिए ।

स्थानीय, प्रादेशिक तथा राष्ट्रियस्तरका पाठ्यक्रममा मौलिकताको शिक्षा जोड्ने र कक्षा ९–१२ को सीपमूलक विषयलाई समेत कसरी परिमार्जन गर्ने भन्ने विषयमा उपमहानगरले एउटा खाका तयार पारेर प्रस्तुत गर्ने छ । उपमहानगरपालिकाले नगर शिक्षा योजना निर्माण गर्नेदेखि मावि तहको सीपमूलक विषय, स्थानीय तहको पाठ्यक्रम बनाउन विज्ञहरुको समिति पनि गठन भइसकेको प्रमुख सुवेदीले बताए।

‘‘शिक्षक, प्रध्यापक, इञ्जिनीयर, डाक्टर, वैज्ञानिक, प्राविधिक, कलाकार, प्रशासक, कृषकलगायतका शैक्षिक जनशक्ति उत्पादन गर्ने भरपर्दो आधार शिक्षा नै हो’’ प्रमुख सुवेदीले भन्नुभयो, “विज्ञान, खोज, अनुसन्धानका साथै प्राप्त भएका वस्तुको उपयोग, प्रशोधन र व्यवसायीकरणको बाटा र पाटालाई शिक्षाले सम्बोधन गर्नुपर्ने छ ।” यस्का लागि विज्ञहरुको समिति गठन भइसकेको छ ।

शिक्षाविद् रामलाल श्रेष्ठको संयोजकत्वमा गठन भएको समितिमा विज्ञहरु आनन्दमानसिंह शाक्य, रामकृष्ण पछाइँ, तारा पाण्डे, घनश्याम पाठक तथा प्रेमबहादुर बस्नेत रहनुभएको छ । यस्तो कार्यदलका सदस्य सचिव तथा शिक्षा महाशाखा प्रमुख उपसचिव लोकराज पन्थीले समितिले काम शुरु गरिसकेको जानकारी दिए ।

नगर शिक्षा योजना निर्माण कार्यदल, स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी उपसमिति, सीपसँग सम्बन्धी कार्यपत्र निर्माण उपसमितिसमेत गठन भइसकेको शिक्षा महाशाखा उपसचिव पन्थीले जानकारी दिए । यी समितिले तीन महीनाभित्रमा सबै काम सक्नेछन् । सीपयुक्त र दक्षशक्तिको जगबाट नै बुटवलको समृद्धि हुने सबैको ठहर रहेकोले शैक्षिक सङ्गोष्ठी प्रभावकारी हुने बुटवलका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देल बताए ।