आर्थिक

महायज्ञबाट ९७ लाख सङ्कलन

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित सिद्धेश्वरी शिव मन्दिरसहित सर्वाङ्गीण विकास गर्ने उद्देश्यसहित सञ्चालित महायज्ञमा रु ९७ लाख सङ्कलन भएको छ ।

मङ्सिर २३ गतेदेखि सिद्धेश्वरी मन्दिर प्राङ्गणमा सञ्चालन गरिएको महायज्ञमा रु ९७ लाख तीन हजार १९६ सङ्कलन भएको आयोजकले जनाएको छ । महायज्ञमा शुक्लागण्डकी नगरपालिका–२ कोत्रेका सुमन रानामगरले रु तीन लाख ६७ हजार र सोही ठाउँका जनकराज सिग्देलले रु तीन लाख ५५ हजार दान गर्नुभएको नगरपालिकाका प्रवक्ता तीर्थराज खनालले जानकारी दिए ।

सिद्धेश्वरी मन्दिर निर्माण गर्ने र जुवादी अमलकोटको ज्वालादेवी मन्दिरसम्म पुग्ने पदमार्ग विस्तार गर्ने लक्ष्यसहित महायज्ञ आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमराज खनालले बताए । भागवत रसिक युवा गुरु ऋषिराम महाराजले कथावाचन गर्नुभएको महायज्ञमा चौरासी पूजा, एकल तथा सामूहिक ब्रतबन्ध, नवग्रह शान्ति पुजन, विवाह, तुलादान, लाखबत्ती प्रज्ज्वलन, पितृ उद्धार, १००८ शालिग्राम परिक्रमालगायत कार्य गरिएका थिए ।