लुम्बिनी

हुलाकी राजमार्ग सडकको कालोपत्र गर्न शुरु

नेपालगञ्ज । बाँकेमा हुलाकी राजमार्गअन्तर्गतको सडक कालोपत्र गर्ने काम शुरु गरिएको छ । आज पहिलो दिन पुरैनादेखि साढे एक किलोमिटर बाटोमा कालोपत्रेका लागि गर्नुपर्ने पहिलो चरणको काम सकिएको इञ्जिनीयर तुलसीराम भण्डारीले जानकारी दिए ।

नेपालगञ्जको पुरैनादेखि सुइया बघौडासम्मको ४४ दशमलव ६ किलोमिटरको हुलाकी राजमार्गअन्तर्गतको सडक कालोपत्रे हुने बताएको छ । योजनाको बजेट सरकारले नियमित उपलब्ध गराउँदै गएमा २०७६ साउनसम्ममा काम सक्ने गरी कालोपत्रे शुरु गरिएको इञ्जिनीयर भण्डारीले बताए ।

“निर्माणाधीन सडकखण्डको ठाउँठाउँमा जग्गा अधिग्रहणसम्बन्धी विवाद समाधान नभएकाले ती स्थानलाई छाड्दै सडक कालोपत्रे गरिनेछ”, इञ्जिनीयर भण्डारीले भने ।

यसैबीच, नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रा शिवचोकबाट पुरैनासम्मको सडक ११ मिटर चौडा हुनुपर्नेमा सात मिटरमै बनाउन थालेको भन्दै स्थानीयवासीले अवरोध गरेका छन् ।

सडकमा घर परेका स्थानीयवासी रामनारायण बर्माले आफ्नो घर भत्काउन आलटाल गरेपछि अन्य स्थानीयवासीले भने मापदण्डआनुसारकै सडक संरचना निर्माण हुनुपर्ने माग गरेका हुन् ।

स्थानीय बर्माले आफ्नो घर अगाडिको नाली आफैँ निर्माण गर्न थालेपछि नगर प्रहरीले स्थानीयवासीको आग्रहमा ढलान गरेको नाली भत्काएको छ । सहमतिको आधारमा समाधान गरेर सडक बनाउने उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले बताए।