प्रदेश 2

उदयपुरमा खाना मेला शुरु

गाईघाट । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा आइतबारदेखि खाना मेला (फुड फेस्टिबल) शुरु भएको छ ।

जिल्लाभित्र रहेका विभिन्न जाति तथा जनजातिसँग सम्बद्ध संस्कृति र परम्परागत खानाको परिकारलाई मेला तथा महोत्सवमार्फत बजारीकरण गर्न र आन्तरिक पर्यटन प्रवद्र्धनका लागि महोत्सव शुरु गरिएको जिल्ला होटल व्यवसायी सङ्घ सहयोगी नेवाःपुच उदयपुरले जनाएको छ ।

जिल्लाको सदरमुकाम गाईघाटमा प्रदेश नं १ का पर्यटनमन्त्री जगदीशप्रसाद कुसियतले उक्त खाना मेलाको औपचारिक उद्घाटन गरेका हुन् । उक्त १० दिने खाना मेलामा जिल्लाका मुख्य नेवाजाति, दनुवार, थारू, राई, मगर, क्षेत्री, ब्रम्हमणसहित अन्य जातिको परम्परागत र स्थानीय खानाको परिकारहरु प्रदर्शनीमा राखिने भएको नेवाःपुच उदयपुरका सचिव गोपाल श्रेष्ठले बताए ।

उदयपुरको जातजातिको खाना र संस्कृतिको पहिचान गराएर झण्डै ५० हजार आन्तरिक पर्यटक भित्र्याउने लक्ष्यका साथ उक्त महोत्सव शुरु गरिएको आयोजकले जनाएका छन् ।
उक्त महोत्सवमा जिल्लाका नेवार जातिको लाखे नाच, राईको साकेला चण्डीनाच, थारू जातिको झुम्रा नाच, दनुवार जातिको रामदल नाच, पूर्वेली मगर जातिको हुर्रा नाच, क्षेत्री ब्राम्हणको बालन नाच र रतौली नाचसमेत मेलामा प्रस्तुत गरिने छ ।

यस्तो महोत्सवले जिल्लालाई खाना र संस्कृतिको पहिचानलाई समेत अगाडि बढाएर पर्यटन विकासमा टेवा पुग्ने गाइघाटका समाजसेवी युवराज राईले बताए । मेलामा विभिन्न जातिको खानाको झण्डै ५० स्टल राखिएको आयोजकले बताएको छ ।