समाचार

स्वदेशमै व्यवसायमा रम्दै युवा

विदुर । चरम गरीबीले पिल्सिएका विदुर नगरपालिका–५ का २७ वर्षीय बालकृष्ण पनेरुले जीवनमा धेरै हण्डरहरु बेहोर्नुप¥यो । सानो छँदा नै घरको मियोका रुपमा रहनुभएका बाबुको मृत्युपछि गाउँमा मेला, मजदूरी गर्दै माध्यमिक तहसम्मको शिक्षा पूरा गर्नुभएका पनेरुले एसएलसीपछि उच्च शिक्षा अध्ययन गर्न धेरै कष्ट उठाउनुप¥यो । घरको जेठो छोरो भएपछि घर परिवारको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा आइप¥यो । स–साना भाइबहिनीको पनि पालनपोषण गर्नुपर्ने अर्को बाध्यता थियो ।

घरको कमजोर आर्थिक अवस्थाकै कारण स्वदेशमा मेला मजदूरीले परिवार पाल्ने धौ–धौ हुने देखेपछि ऋणधन गरेर अन्ततः उनी विदेश पलायन भए । तर, राम्रो कमाउने अनि सुखसँग परिवार पाल्ने सपना बुनेर खाडी मुलुक छिर्नुभएका पनेरुले त्यहाँ ६ वर्षसम्म बस्दा पनि सोचेजस्तो कमाउन सक्नुभएन । बरु, गाउँमै फर्केर केही काम गर्ने अठोट उहाँको मनमा जाग्यो । ऋण लिएरै भए पनि व्यावसायिक कुखुरापालन गर्ने योजना बनाए ।

एक वर्षअघि विदेशबाट फर्केर व्यावसायिक रुपमा ब्रोइलर कुखुरा पाल्न शुरु गरे । पाँचसय कुखुराबाट शुरु गरी व्यवसाय थाल्नुभएका पनेरु आफ्नो आम्दानीको स्रोत अहिले यही नै बनिसकेको बताए । आफ्नै घरछेउमा करीब दुई हजार कुखुरा अट्ने क्षमताको टहरो निर्माण गरी दैनिक त्यसैको स्याहारसुसारमा उनी व्यस्त हुन्छन् । कुखुरापालन गर्न शुरुमा टहरा र चल्लाका लागि चार लाख रुपैयाँ ऋण खोजेर व्यवसाय थाल्नुभएका उनले एक समूहकै कुखुरा बेचेर ऋण चुक्ता गरे । करीब ४५ देखि ५० दिनमा कुखुरा बेच्न लायक हुने र एक पटकमा एक लाखदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्न सकिने पनेरुले बताए ।

पनेरुले भने – “पहिला विदेश जानुभन्दा बरु यही व्यवसाय गर्ने आँट त्यतिबेला आएन । शायद, यसरी पहिला नै गर्न सकेको भए मैले विदेशमा थोरै पैसा कमाउनका लागि धेरै कष्ट झेल्नु नपर्ने रहेछ ।” त्यसैले अहिले उनी आफ्नै ठाउँको महत्व र सम्भावना नचिनेर विदेश जान खोज्नेहरुलाई यही सुझाव र सल्लाह दिन्छन् ।

पनेरुको जस्तै अर्थाभावका कारण विदेशमा पसिना र परिश्रम खर्चेर केही आर्जन गर्न नसकेका र स्वदेशमा मेहनत गरेपछि सफल बनेका धेरै युवकहरु नुवाकोटमा अहिले प्रशस्त भेटिन्छन् जो विदेशभन्दा आफ्नै माटोलाई चिन्न सकेमा समृद्ध र उज्यालो भविष्य नेपालमै रहेको सन्देश गर्वका साथ दिइरहेका मात्रै छैनन्, सफल व्यवसाय गरेर त्यसको पुष्टि नै गरिरहेका छन् ।

सफल युवाको सूचीमा म्यागङ गाउँपालिका वडा नं ६ वर्ष ३६ का भद्रसिंह तामाङको पनि नाम आउँछ । सात वर्ष खाडी मुलुकमा बस्दा पनि आफ्नो र परिवारको जीवनमा कुनै परिवर्तन आएको नदेखेपछि उनले गाउँमै फर्केर तीन वर्षदेखि व्यावसायिक तरकारी खेती शुरु गरे। दश हजार रुपैयाँको लगानीमा एउटा टनेलबाट गोलभेँडा लगायतका तरकारी उत्पादन गर्न शुरु गर्नुभएका उनले अहिले ५ रोपनी क्षेत्रफलमा करीब १० वटा टनेल बनाएर आफ्नो खेतीलाई विस्तार गर्न सफल भए। “विदेशमा तीन÷चार महिनामा कमाउने पैसा अहिले म यहीँ गाउँमै कमाउन सक्षम बनिसकेको छ,” विदेशमा पैसा कमाउनका लागि जान मरिहत्ते गर्ने अहिलेका युवालाई प्रेरणा दिँदै उनले भने – “त्यहाँ गएर अर्काको देशमा बगाउने पसिना यहीँ आफ्नै माटोमा सिँचित गर्ने हो भने कहीँ जानुपदैन कमाउनका लागि ।” परिवारसँगै बसेर काम गर्न पाउँदा उनी ज्यादै प्रफुल्ल हुन्छन् । एउटा टनेलमा गरेको तरकारी खेतीबाट मात्रै उनले ५० हजार रुपैयाँसम्मको तरकारी उत्पादन गर्न सक्षम भएका छन् ।