पत्रपत्रिका

अब आफै सगरमाथाको उचाई नाप्ने नेपालको तयारी

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आफ्नै शिरमा भए पनि नेपाल आफैंले भने अहिलेसम्म यसको उचाइ मापन गरेको थिएन ।

अरुले मापन गरेकै उचाइलाई आधार मानेको थियो । अब भने नेपाल आफैंले सगरमाथाको उचाइ नाप्ने भएको छ ।

आजको गोरखापत्र दैनिकमा यो खबर छ, नेपालले मान्ने गरेको सगरमाथाको उचाइ सन् १९५४ मा भारतले गरेको मापन हो । नेपालले अहिलेसम्म यसलाई आधिकारिक रुपमा मान्यता दिएको छ ।

त्यसैगरी सन् १९९९ मा अमेरिका र सन् २००५ मा चीनले सगरमाथाको उचाइ मापन गरेको थियो । सबैको मापन फरक फरक निस्किएको छ । नेपालले आधिकारिक रुपमा उल्लेख गर्ने आठ हजार ८४८ मिटर उचाइ भारतले मापन गरेको हो ।

यसै गरी अमेरिकाको मापनमा आठ हजार ८५० मिटर उचाइ निस्किएको थियो भने चीनले गरेको मापनमा आठ हजार ८४४ मिटर थियो । चीनले गरेको मापनमा हिउँलाई घटाएर चट्टानको भागको मात्र उचाइ लिइएको थियो ।