पत्रपत्रिका

विमानस्थलबाट सात करोड रुपैयाँभन्दा बढीको चेक गायब

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट १० थान चेक गायब पारिएको छ।

मलेसियाको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर एसियाको नेपालस्थित आधिकारिक बिक्री प्रतिनिधि (जिएसए) हरिमान लामाको इन्सेन्टिभ्स टुर्स प्रालिले बुझाएको ती चेक गायब पारिका हुन्। स्रोतका अनुसार ट्राभल्स कम्पनी र विमानस्थल कार्यालयका कर्मचारीको मिलेमतोमा ती चेक गायब पारिएको हो।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमका अनुसार गायब पारिएका १० थान चेक करिब सात करोड २४ लाख रुपैयाँ बराबरका छन्। यो रकम एयर एसियाले त्रिभुवन विमानस्थल प्रयोग गरेबापत कार्यालयलाई बुझाएको सेवा शुल्क रकम हो।

तर, चेक बैंकका नपुगी कार्यालयबाटै गायब पारिएको समाचार नागरिक दैनिकमा छ। ‘कार्यालयबाट चेक रिसिभ गरेको कागजपत्र छ,’ प्राधिकरणका महानिर्देशक गौतमले भने, ‘ती चेकबाट बैंकमा भने पैसा जम्मा भएको छैन।’ उनका अनुसार यसको मतलब कार्यालयबाटै चेक गायब भएको बुझ्नुपर्छ।