कर्णाली प्रदेश

चिसो छल्न जाजरकोट

जाजरकोट । माथिल्लो डोल्पामा चिसो र हिमपात हुन थालेपछि त्यहाँका स्थानीयवासी जाजरकोट झरेका छन् ।

चिसो छल्न डोल्पाका तीन स्थानीय तहका स्थानीयवासी घर छाडेर जाजरकोटका विभिन्न बस्तीमा आएका हुन् । माथिल्लो डोल्पाका स्थानीय तह फोक्सुण्डो, डोल्पोबुद्ध, छार्का ताङसुङ गाउँपालिकाका स्थानीयवासी लत्ताकपडा, खच्चड, भेडा लिएर बेँशी झरेका छन् ।

चिसो बढेसँगै डोल्पाका आवासीय र सामुदायिक विद्यालय बन्द गरिएका छन् । अहिले जाजरकोट झरेका डोल्पाका स्थानीयवासी यार्सागुम्बाको मौसम शुरु भएसँगै वैशाखमा माथिल्लो डोल्पा जाने गरेको फोक्सुण्डो गाउँपालिका– ६ की भगवतीखत्री गुरुङले बताए । गाउँ नै सुनसान हुनेगरी जाजरकोटको नलगाड नगरपालिकामा बसाइँ सर्ने गरेको उनको भनाइ छ ।

डोल्पाबाट आउँदा सँगै ल्याएका जडीबुटी, सिमी, लगायतका वस्तु जाजरकोट, रुकुम र सल्यानसम्म गएर बिक्री गरी आएको पैसाले घर फर्कदा खाद्यान्न, लत्ताकपडा किनेर लाने गरेको डोल्पोबुद्ध गाउँपालिका – ३ का इताङ गुरुङले जानकारी दिए । जाजरकोटको नलगाड नगरपालिकाभित्र डोल्पाका कतिपय स्थानीयवासीबीच सो क्षेत्रमा बिहेवारी भएकाले पनि बस्न सजिलो भएको उनको भनाइ थियो । जुम्लाका स्थानीयवासी पनि पश्चिम जाजरकोटको कुशेगाउँपालिकाका विभिन्न ठाउँमा आएर तातोयाम शुरु भएसँगै जुम्ला जाने गरेका छन्