राजनीति

कांग्रेस महासमिति बैठक : आज नाम दर्ता र स्वागत कार्यक्रम, भोलि उद्घाटन

काठमाडौँ । नेपाली का‌ंग्रेसको महासमिति बैठक नजिकिए संगै राजधानिमा चहलपहल शुरु भएको छ । शनिवारदेखि राजभानिमा शुरु हुने बैठकमा सहभागिता जनाउनकालागी देशभरबाट कांग्रेस कार्यक्रर्ता काठमाडौ आइसकेका छन् ।

कांग्रेसले महासमिति बैठकमा सहभागि हुनेहरुका लागी आज दिउसो पार्टी केन्द्रीय कार्यालय सानेपामा स्वागत तथा नाम दर्ताको कार्यक्रम आज राखेको छ । भोलिदेखि पुस ३ गते सम्म चल्ने महासमिति बैठकमा ४ वटा दस्तावेज पनि पेश गरिन लागेको कांग्रेसले जनाएको छ ।

 उद्घाटन कार्यक्रम भने शनिबार ११ बजे रामशाहपथस्थित यगम्बर पार्टी प्यालेसमा सभापति शेरबहादुर देउवाले महासमिति बैठकको उदघाटन गर्नेछन् । शनिबार उदघाटन कार्यक्रम सकिएलगत्तै बन्दसत्र शुरु हुनेछ । बन्दसत्रमा विधान मस्यौदा समिति संयोजक पूर्णबहादुर खड्काले विधान संशोधनको प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यसैगरी महामन्त्री डा.शशांक कोइरालाले सांगठनिक दस्तावेज, उपसभापति विमलेन्द्र नीधिले राजनीतिक दस्तावेज, सहमहामन्त्री डा. प्रकाशसरण महतले कांग्रेसको आर्थिक नीति र कोषाध्यक्ष सितादेवी यादवले आर्थिक प्रतिवेदन बैठकमा पेश गर्ने कार्यक्रम छ ।

महासमिति सदस्यहरुलाई समूहमा विभाजन गर्ने र सबै प्रतिवेदनहरुमाथि समूहगत छलफल गराएर निष्कर्ष पेश गर्ने व्यवस्था मिलाइएको छ । केन्द्रीय समितिले सर्वसम्मतिले ल्याएको कुनै प्रस्तावलाई समेत अस्वीकार गर्ने अधिकार महासमितिलाई छ ।

देशभरबाट आएका महासमिति सदस्यहरुले बेलुकीको खाना र बासको व्यवस्था आफैंले मिलाउनु पर्ने छ । पार्टीले विहानको खाना र खाजाको मात्र व्यवस्था गर्ने महासमिति बैठक व्यवस्थापन समिति संयोजक एवं कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाले जानकारी दिए ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार महासमिति बैठकमा १ हजार ६ सय ६० जना सहभागि हुनेछन् । २४० निर्वाचन क्षेत्रबाट पाँच जनाको दरले १ हजार २ सय जना तथा भ्रातृ एवं शुभेच्छुक संघसंस्था र जनसम्पर्क समितिबाट ९७/९७ जना प्रतिनिधिहरु बैठकमा सहभागी हुनेछन् । महासमिति सदस्य नभएका २९ जना जिल्ला सभापति, २६ जना सांसद र सबै केन्द्रीय सदस्यहरुले पनि महासमिति बैठकमा भाग लिनेछन् ।

हरेक दिन अपराह्न ४ बजे पत्रकार सम्मेलन गरी महासमिति बैठकमा भएका छलफलबारे मिडिया सेन्टरमार्फत् जानकारी दिइने प्रवक्ता शर्माले जानकारी दिए ।