आर्थिक

नेपालमा २ सय, ५ सय र २ हजार दरका भारतीय नोट नचल्ने

काठमाडौँ । नेपाल सरकारले एक सयभन्दा ठूला भारतीय नोट (आइसि)को कारोबारमा प्रतिबन्ध लगाएको छ ।

गत साता बसेको मन्त्रीपरिषद्को बैठकले अबदेखि सर्वसाधारणले दुई सय, पाँच सय र दुई हजार दरका भारतीय नोट राख्न नपाउने निर्णय गरेको थियो ।

बिहीबार सार्वजनिक गरिएका मन्त्रिपरिषद बैठकका निर्णयअनुसार एक हजार दरका नोट नेपालमा यस अघिदेखि नै प्रतिबन्धित छन् । अब सर्वसाधारणले एक सय वा सोभन्दा साना भारतीय नोटबाट मात्र कारोबार गर्न पाउनेछन् ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाका अनुसार भारतीय रुपैयाँ २००, ५०० र २००० का नोटहरु साथमा राख्न गैरकानुनी हुने भएकाले ती नोटहरु चलनचल्तीमा नल्याउन, नबोक्न, नराख्न सूचना प्रकाशन गर्ने निर्णय भएको छ ।

२०७३ कात्तिक २४ गते नेपाल राष्ट्र बैंकले ५ सय र १ हजार दरका भारतीय नोट तत्काल सटही नगर्ने निर्णय गरेको थियो । भारतमा मोदी सरकारले ५ सय र १ हजारका नोटमा प्रतिबन्ध लगाउँदै २ हजारका नोट प्रकाशन गर्ने निर्णय गरेपछि नेपालको केन्द्रीय बैंकले त्यस्तो निर्णय गरेको थियो ।

नेपाल–भारत सीमामा भारतीय रुपैयाँ नेपाली सरह कारोबार हुने गर्छ । पछिल्लो समय काठमाडौंमा समेत व्यापारीले भारतीय रुपैयाँको बाक्लै कारोबार गर्दै आएका थिए । अब एक सय र त्यो भन्दा तलका नोटको कारोबार मात्र हुन पाउनेछ ।

सरकारले यसको असर के हुनेछ र किन यो निर्णय गरियो भन्नेबारे केही खुलाएको छैन।