समाचार

गाउँभरि गाई फार्म

बलेवा । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेराका वडा सदस्य रुद्रनाथ शर्मा हरेक बिहान र साँझको समयमा सडकमा देखिन्छन् । हातमा ठूलो सिल्टेको भाँडो बोकेका शर्माको हिँडाइको गति कुनै सवारी साधनको भन्दा कम हुँदैन । दूध बोकेर बिक्रीका लागि डेरीमा हिँडेका शर्माले फर्केपछि गर्नुपर्ने कैयौं काम साँचिएका हुन्छन् । त्यसैले उनको गति तेजले चलेको हुन्छ । बागलुङ–कुश्मीशेरा सडक खण्डको १९ किलोमिटरमा पर्ने उनको घरदेखि १८ किलोमिटरको दूरीमा रहेको डेरीसम्म दौडिनु उनको नित्य कर्म हो ।

उन्नत जातका गाई र भैंसी गरेर आठ वटा वस्तुभाउ गोठमा बाँधेका उनले दिनमा २५ देखि ३० लिटरसम्म दूध बिक्री गर्दैआएका छन् । बिहान १५ लिटर र बेलुका १० लिटर भन्दा धेरै दूध बेच्ने शर्माले महिनामा औसत ६० देखि ७० हजार रुपैयाँ कमाउँछन् । दुई छोरा र श्रीमतीसहित चारजनाको परिवारको दैनिकी चलाएर बचत गर्न समेत शर्मालाई दूधको कमाइले पुगेको छ । घरमा भएका श्रीमान् श्रीमतीको खर्च र बागलुङ बजारमा पढ्दै गरेका दुई छोराको खर्च शर्माले दूधको कमाइले चलाएका छन् । उनी वडा सदस्य सँगै विभिन्न सामाजिक संस्थामा समेत जिम्मेवार पदमा छन् । बिहान बेलुका घाँस काट्ने देखि दुग्ध संकलन केन्द्रसम्म पुग्ने काम भ्याउने शर्मालाई घरको कामका लागि उनकी श्रीमती सरस्वती शर्माले साथ दिन्छिन् ।

पल्लोपाखा सामुदायिक माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका शर्मा कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाका सचिव पनि हुन् । कहिले वडा कार्यालयको काम त कहिले विद्यालय र सहकारीको काम भ्याउने शर्माको बिहान बेलुकाको दैनिकी भने गाई गोठ र दुग्ध सङ्कलन केन्द्रमै सीमित हुन्छ । “सामाजिक काम गरेर बचेको समय गोठमा लगाएको छु,” शर्माले भने – “गाईभैंसी पालेर भएको आम्दानीले मलाई थप आनन्द दिएको छ ।” डेढ वर्ष पहिलासम्म जिल्लाको दक्षिण क्षेत्रका गाउँगाउँमा सामान ढुवानी गर्न खच्चड पालेका शर्माले वडा सदस्यमा निर्वाचित भएपछि गाईभैंसी पाल्न शुरु गरेका हुन् । एक–दुई वटा भैसी पालेर दूध बिक्री गर्न थालेको वर्षौं बितिसकेको भए पनि व्यावसायिक रुपमा भने उनले जनप्रतिनिधिमा निर्वाचित भएपछि गाई पाले ।

बिहान बेलुकाको समय व्यवस्थापन गरेर मासिक रुपमा राम्रो आम्दानी गर्न सकिने देखेर व्यावसायिक रुपमा गाई पालेको शर्मा बताउँछन् । “खच्चड पाल्दा दिनभर खच्चडकै पछि दौडिनु पर्दथ्र्यो, सामाजिक काम गर्न मलाई समय हुँदैन्थ्यो,” शर्माले भने – “जनताका काम गर्न समय मिल्दैन कि भनेर खच्चडको विकल्पका रुपमा गाई पाल्न थालेको हुँ ।” आगामी वर्षसम्ममा मासिक एक लाख रुपैयाँसम्म कमाइ हुने गरी शर्मा गाई फार्मको विस्तारमा लागेका छन् । “घाँसे मैदान प्रशस्त छ, दिनमा एक समय मिलाएर घाँसको प्रबन्ध गर्न सके १० देखि १५ वटा सम्म गाई पाल्न सकिन्छ,” शर्माले भने – ‘दूधको कमाइले मलाई हौस्याएको छ । कामदार राखेरै भए पनि गाईको सङ्ख्या बढाउँछु ।”
‘सरस्वती गाई फार्म’ दर्ता गरेर व्यावसायिक रुपमा दूधको उत्पादनमा लागेका शर्माको काम देखेर गाउँलेहरुले समेत सिको गर्न थालेका छन् । शर्माको गाई फार्मबाट राम्रो आम्दानी भएको देखेपछि गाईभैंसी पाल्न शुरु गरेका कुश्मीशेराकै टुनिवटका केदार पौडेल अहिले मासिक ४० हजार रुपैयाँ कमाउँछन् । दुई वटा उन्नत जातका गाई र एउटा उन्नत जातको भैंसी ‘आशीष गाई पशु फार्म’ नाम गरेको उनको फार्ममा छन् । दिनमा १० देखि १५ लिटरसम्म दूध बिक्री गर्ने गरेको पौडेलले बताए । “सानोतिनो पसल गरेर बसेको थिएँ, यत्तिकै दिन बितेका थिए,” पौडेलले भने – ‘रुद्र दाईले गाई पालेर दूध बेचे राम्रो हुन्छ भन्नुभयो । सोही अनुसार काम शुरु गरेको म अहिले खुशी छु ।” उनका अनुसार व्यापारमा भन्दा गाईभैंसीको सुसारमा खर्चेको समयले फाइदा दिएको छ । पौडेलले जस्तै खौर, किसेक र टुनीवटका १५ जना किसानले पशुपालनलाई नै मुख्य पेशा बनाएर दूध बिक्री गर्दैआएका छन् ।

उनीहरुले व्यावसायिक गाईपालन शुरु गरेपछि कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाको सङ्कलन केन्द्रमा दूधको आपूर्ति ह्वात्तै बढेको छ । सहकारीले कुश्मीशेराको खौर, किसेक र टुनीवटमा बस्ने किसानहरुको सहजताका लागि खोलेको दुग्ध सङ्कलन केन्द्रमा दूधको मात्रा बढेको सहकारीका अध्यक्ष मुक्तिराम आचार्यले बताए । “एक वर्ष पहिलासम्म ८० देखि १०० लिटरसम्म दूध सङ्कलन हुन्थ्यो,” आचार्यले भने – “एक वर्षयता दूधको मात्रै क्रमशः बढ्दै ३०० लिटर पुगेको छ ।” सहकारीले सो क्षेत्रका सबै किसानहरुलाई समेट्न २८ जनालाई शेयर सदस्य नै बनाएको छ । पन्ध्रजना किसानले तीन वटा भन्दा धेरै गाईभैंसी पालेर व्यावसायिक उत्पादन गरेको भए पनि बाँकीले भने शेयर सदस्यको दायित्वअन्तर्गत पूरा गर्नुपर्ने कोटामा मात्रै दूध उपलब्ध गराउने गरेका छन् ।

एक वर्षको अवधिमा झण्डै ३५ लाख रुपैयाँको दूध बिक्री गरेको उक्त सङ्कलन केन्द्रले आगामी वर्ष ६० लाख रुपैयाँको दूध बिक्री गर्ने लक्ष्य राखेको सहकारीका सचिव रुद्रनाथ शर्माले बताए । बागलुङको बलेवा क्षेत्रमा रहेका किसानहरुको दूध सङ्कलन र बिक्री गर्दैआएको कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले विभिन्न सङ्कलन केन्द्रमार्फत दूध सङ्कलन गरेर बागलुङ बजार तथा पर्वतको सदरमुकाम कुश्मा बजारमा बिक्री गर्दैआएको छ । वार्षिक डेढ करोड रुपैयाँ भन्दा धेरैको दूध बिक्री हुने गरेको अध्यक्ष आचार्यले बताए ।

दूधको बजार राम्रो रहेकाले किसानहरुलाई बिक्रीका लागि समस्या छैन । टाकुरीमा चिस्यान केन्द्र स्थापना गरेको सहकारीले बिहान बेलुका दुवै समयको दूध सङ्कलन गरेर स्तरीकरणसमेत आफ्नै केन्द्रमा गर्दैआएको छ ।