बाग्मती

महाभारत क्षेत्रबाट बँदेल चोरी बढ्दै

काभ्रेपलाञ्चोक । जिल्लाको उत्तरी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खला जङ्गलबाट केही महिनायता बँदेलको चोरी बढ्न थालेको छ । स्थानीयवासीले त्यस क्षेत्रमा अवैधरुपमा बँदेल चोरी गरी घरमा पाल्ने र काटेर मासु बिक्री गर्न थालेपछि स्थानीयवासीले बँदेल संरक्षण गर्न स्थानीय प्रशासनसँग अनुरोध गरेका छन् ।

स्थानीयवासीले महाभारत गाउँपालिकाका विभिन्न वडाका पाँच जना व्यक्तिले बँदेलको चोरी गरेको आरोपमा जिल्ला वन कार्यालय धुलिखेलमा हालै मात्र उजुरी दर्ता गरेका छन् । उजुरीमा महाभारत गाउँपालिका–४ का केशरसिं वाइवा, डिलबहादुर वाइवा र सुन्दर लामा वडा नं ३ का विजय मोक्तान र रकमसिं लामाले महाभारतको जङ्गलबाट महीनामा चारदेखि ६ वटासम्म बँदेल चोरी गरी घरमा पाल्ने र रातिको समयमा गोप्य स्थानमा काटेर मासु बिक्री गर्ने गरेको उजुरीमा उल्लेख छ ।

वन कार्यालयका प्रमुख बद्री कार्कीले बँदेल चोरी गरी काटेर मासु बिक्री गरेको आरोपमा किटानी उजुरी परेको बताए । उनले भने, “उजुरी दर्ता भएपछि अनुसन्धान टोली बनाई स्थलगत अनुसन्धान थालिएको छ, दोषी देखिएकालाई नियन्त्रणमा लिई कार्वाही गर्छौँ ।” उनका अनुसार अनुसन्धान टोलीले घटनाको मुचुल्का गरी सर्जमिन गरेको छ भने चोरी गरी पाल्ने स्थानको खोजी कार्य भइरहेको छ ।

उजुरीमा हातहतियारसमेत प्रयोग गरी साना जातका बँदेललाई घाइते बनाई नियन्त्रणमा लिने र घाइते बँदेललाई काट्ने गरिएकाले आरोपितलाई हदैसम्मको कार्वाही माग गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार वन्यजन्तु चोरी–शिकारी गर्न पाइँदैन ।