पर्यटन/संस्कृति

अन्तर्राष्ट्रिय मेलाको तयारी तिव्र

रुपन्देही । रुपन्देही व्यापार सङ्घको आयोजनामा आगामी पुस ५ देखि बुटवलमा हुने लुम्बिनी एक्स्पो–२०७५ तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।

तयारीका क्रममा पूर्वाधार निर्माणको काम र मूल ढोका, सचिवालय तथा प्रदर्शनी कक्ष निर्माणको काम अन्तिम चरणमा पुगेको मूल समितिका सदस्यसचिव प्रकाश ढकालले जानकारी दिए । प्रदर्शनीस्थल बुटवल मण्डपमा मेलाको सचिवालयको निर्माण काम सकिएको र प्रदर्शनी कक्ष, ढोका, मञ्च तथा ‘पभिलियन’ को निर्माण सकिएपछि सजावटको काम शुरु हुनेछ ।

रुपन्देही व्यापार सङ्घका अध्यक्ष पदमप्रसाद श्रेष्ठले मेलालाई अघिल्ला वर्षभन्दा पृथक बनाउने सोचका साथ काम भइहेको बताए । आयोजकले मेलाको मूल ढोकाको ढाँचा मायादेवी मन्दिरको स्वरूपमा निर्माण गर्न लागिएको र त्यसलाई मौलिक बनाउने योजना छ भने सचिवालयलाई परम्परागत पहाडी घरको झल्को दिनेगरी खरले छाएको मौलिक भवन निर्माण गरिएको छ ।

तयारीको ८० प्रतिशत काम सम्पन्न भइसकेको आयोजक मूल समितिका सहसंयोजक कृष्णप्रसाद घिमिरेले बताए । घिमिरेले यस पटकको आयोजनामा प्रविधि, कृषि र पर्यटनलाई विशेष प्राथमिकता दिने बताए । मेला १८ गतेसम्म बुटवल मण्डपमा चल्नेछ ।